चार आयोगका अध्यक्षको नाम अनुमोदन, कुनमा को ?

संसद
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन । संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि परिषद्ले समितिमा पठाएको थियो । उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जनाएका छन् ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहेका सांसदको भने बैठकमा अनुपस्थिति रहेको थियो ।