काठमाडौं, २१ फागुन । सर्लाही र तेह्रथुमका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ भने आगलागीमा परी तेह्रथुममा १ जनाको मृत्यु भएको छ ।
सर्लाहीको बाग्मती नगरपालिका–४ प्रसाईंटोल बस्ने अनन्त प्रसाइँसमेत ३ जनाको उखुबारीमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ ।
त्यस्तै तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङ बस्ने ५५ वर्षीया राममाया कार्कीको टिनको छानो भएको २ तले कच्ची घरमा मंगलबार बिहान आगलागी हुँदा आगलागीमा परी जलेर राममाया कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको मृत्यु भएको छ ।
साथै आगलागीमा जलेर घाइते भएकी राममाया कार्कीलाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ । आगलागीबाट घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।