एजेन्सी । रवन (परिवर्तित नाम) र उनकी बहिनी रीमले कम्तीमा १३ पटक ठेगाना परिवर्तन गरेका छन्। उनीहरु एउटा कट्टर साउदी मुस्लिम परिवारमा हुर्किएका हुन्।
साउदी अरेबियामा मानव अधिकार अवस्थाबारेको अन्तर्राष्ट्रिय चर्चामा पछिल्लो पल्ट जीवनरक्षाका निम्ति उनीहरु गुहार मागिरहेका छन् । मृत्युदण्ड दिइन सकिने देशमा फर्काइने त्रास र कानुनी अन्योलमा रहेका उनीहरुले बारम्बार ठेगाना परिवर्तन गर्दै आएका हुन् । पारिवारिक बिदाका क्रममा भागेका साउदी अरेबियाका यी दिदीबहिनी हङकङमा अलपत्र छन्।
घरमा हिंसात्मक दुव्र्यवहार बेहोरेको र पुरुष नातेदारबाट घरेलु कामदारको जस्तो व्यवहार गरिएको उनीहरू बताउँछन् । रवनले भनिन्, ‘उनीहरूले हाम्रा प्रत्येक कदम निगरानी गर्छन्, हाम्रो जीवनको हरेक कुरा नियन्त्रण गर्छन्।’
आफ्नो पहिचान लुकाउन उपनाम जुराएका रीम र रवनले महिलामाथि पुरुषलाई नियन्त्रण गर्न नदिने दाबी गर्दै इस्लाम धर्म त्यागेका छन्। साउदी अरेबियामा त्यसो गर्नु मृत्युदण्डको सजाय हुने अपराध मानिन्छ । छ महिनाअघि यी दिदीबहिनी शरणार्थीको मान्यताको खोजीमा अस्ट्रेलिया जाँदै थिए । तर हङकङ पुगेकाबेला त्यहाँस्थित साउदी वाणिज्य दूतावासका अधिकारीहरूले उनीहरूको यात्रामा हस्तक्षेप गरेका थिए ।
उनीहरूले सन् २०१६ देखि नै पैसा बचत गरिरहेको र भाग्ने योजना बनाइरहेको । गत सेप्टेम्बरमा उनीहरू सुटुक्क कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थल जान सफल भए, जिन्स पाइन्ट लगाए र अस्ट्रेलियाको निम्ति उडे । तर हङकङ पुगेपछि जब उनीहरू अर्को जहाज चढ्ने तयारीमा थिए, तब तिनीहरूको पासपोर्ट खोसियो र त्यहाँभन्दा अगाडिको उनीहरूको उडान रद्द गरियो ।
दिदीबहिनी दुवैले हङकङमा साउदी अधिकारीहरूको डर नमान्ने बताए । रीमले भनिन्, ‘हामीलाई हाम्रो अधिकार थाहा छ । हामी सजिलै तारो बन्दैनौँ । गल्ती गर्ने उनीहरूनै हुन्, हामी होइनौँ । हामी त केवल बाँच्न चाहन्छौँ ।’
रीम र रवनको विषय यो वर्ष महिलाले साउदी अरेबिया छाडेर भागेका दोस्रो ठूलो घटना हो । जनवरीमा अस्ट्रेलिया पुग्ने प्रयास गर्दा ब्याङ्ककको मुख्य विमानस्थलमा रोकिएकी १८ वर्षीया रहफ मोहम्मद अल कुनुनलाई क्यानडाले शरणार्थीको मान्यता दिएको थियो।
रीमले आफूलाई आफ्नो परिवारले कुरिरहेको कुवेत जान अस्वीकार गरेकी थिइन् र विमानस्थलको होटलको कोठामा आफूलाई थुनेर बसेर अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेकी थिइन्। उनका अनुसार साउदी अरेबियामा उनीहरूको कुनै सम्मान छैन । उनले भनिन्, ‘म १२ वर्षको हुँदादेखि उनीहरूले मलाई खाना बनाउन बाध्य पार्थे । जब बहिनी जन्मिइन् हामीले उसलाई हुर्कायौँ ।’ बुवा र घरका पुरुष सदस्यहरूले आफूहरूलाई निरन्तर अपमानित गर्ने र कुटपिट गरेर सजाय दिने गरेको ती दिदीबहिनीको भनाइ छ ।
‘मेरो जीवन केवल उनीहरूको सेवाको निम्ति थियो, म निकै निराश थिएँ, कुनै भविष्य देखेकी थिइन । उनीहरूले मेरो शिक्षा र कुनै पनि आवश्यकताबारे मतलब गर्दैनन्। उनीहरूको मूल ध्यान मलाई एउटी असल श्रीमतीको रूपमा तयार गर्नुमा थियो,’ उनले भनिन् । उनले मानव अधिकार र महिलाको सम्मान हुने अनि स्वतन्त्र रूपमा बोल्न पाउने देशमा बस्ने सपना पनि देखेको बताइन् ।
रवन पनि भन्छिन्, उनी सुरक्षित जीवन जीउन र खुशीसाथ जीवन अघि बढाउन चाहन्छिन् र त्यस्तो देशमा बस्न चाहन्छिन् जहाँ उनलाई आफ्नो निर्णय आफैले गर्ने स्वतन्त्रता होस् ।