इलाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र १० बर्षे जनयुद्धलाई जोडेर मुलुक अगाडि बढाउने सपना काम पार्टी एकता भएपछि साकार भएको बताएका छन्।
४६ औं सुखानी शहिद स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै उनले फागुन १ र २१ लाई जोडने संकल्पको अर्थ भर्खरै मात्रै सार्थक भएको बताए। संविधान निर्माणमा आफनो महत्वपूर्ण योगदान रहेको बताउँदै तत्कालिन समयमा प्रमुख प्रतिपक्षी भए पनि आफूले उक्त भूमिका नखेलेको भए दोश्रो संविधान सभासमेत असफल हुने खतरा रहेको प्रचण्डले बताए।
उनले दुई अलग अलग धारका कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा आउने अवस्था नभए पनि मुलुकको समृद्धिका लागि एकता गरेको बताए। एकताविरुद्ध अनेक षडयन्त्र भए पनि केही दिनभित्र नै तल्लो तहसम्मको एकताले सकारात्मक सन्देश दिने प्रचण्डल बताए।
प्रतिक्रियावादीहरुले दुई अध्यक्षबीच फाटो ल्याउन षडयन्त्र भएकाले १ वर्षे अवधिमा समीक्षा गरेर अगाडि बढेको भन्दै प्रचण्डले कुनै पद र प्रतिष्ठाका लागि नभई आफू मुलुकको हितका लागि समयको माग अनुसार पार्टी एकता भएको बताए।
वि.सं. २०२९ साल फागुन २१ गते तत्कालिन समयमा झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो।
सहिदहरुको सम्झनामा वामपन्थीहरुले फागुन २१ लाई सुखानी स्मृति दिवसको रुपमा ४६ वर्षदेखि मनाउँदै आएका छन्।