सर्वहारा वर्गबारे सात प्रश्न र उत्तर

workers
लाेकपाटी न्यूज

काठमाडौं। नेपालमा सर्वहारा वर्गको कम्युनिष्ट पार्टीमा आवद्ध जनमत ठूलो छ। तर, मार्क्सवाद र सर्वहारा वर्गको दर्शनसम्बन्धि केहीले मात्र ज्ञान राख्छन् र थोरैले मात्र ज्ञानअनुसारको व्यवहार गर्दछन्।

हामीले यहाँ सर्वहारा वर्ग र त्यससम्बन्धि प्रश्न र तिनका उत्तर प्रस्तुत गरेका छौं। पढ्नुस् सात महत्वपूर्ण प्रश्न र तिनका उत्तर।

साम्यवाद भनेको के हो ?

सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भनिन्छ।

सर्वहारा वर्ग भनेको के हो ?

सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो, जो कुनै प्रकारको पूँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन। आफ्नो श्रम बेचेर मात्र उसले जीवन–यापनका साधनहरु प्राप्त गर्दछ। यस वर्गको हर्ष र विस्मात, जीवन र मृत्यु सारा अस्तित्व नै बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ। संक्षेपमा भन्ने हो भने सर्वहारावर्ग अथवा मजदुरहरुको वर्ग भनेको उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग हो।

के सर्वहारावर्ग सधैं अस्तित्वमा थिएन ?

सधैं थिएन। गरीब र श्रमिक वर्गहरु सधैँ अस्तित्वमा रहिआएका थिए र प्रायः श्रमिक वर्गहरु नै गरीब पनि हुने गर्दथे । परन्तु, भर्खरै बताइएको जस्तो अवस्थामा बाँचेका यस्ता गरीबहरु र यस्ता मजदुरहरु अर्थात् सर्वहाराहरु सधैँ अस्तित्वमा थिएनन्। यसरी सदैव नै प्रतिस्पर्धा पनि पूर्णतः स्वतन्त्र र असीमित थिएन।

सर्वहाराले वर्गले पूँजीपतिलाई श्रम कसरी बिक्री गर्दछ ?

म पनि अन्य मालहरु जस्तै एउटा माल हो। श्रमको मूल्य पनि तिनै नियमहरुद्धारा निर्धारित हुन्छ जसरी जुनसुकै अर्को बस्तुको मूल्य तोकिन्छ। वृहत उद्योगको आधिपत्य अथवा संयन्त्र प्रतिस्पर्धा अन्तर्गत जे भने पनि एउटै कुरा हो भन्ने हामी अगाडि देख्ने छौं–सदैव नै वस्तुको सालाखाला मूल्य त्यस वस्तुकोे उत्पादनमा लाग्ने लागतको बराबर हुन्छ। तसर्थ श्रमको मूल्य पनि श्रमको उत्पादनको लागत बराबर नै हुन्छ। अनि श्रमको उत्पादनको लागत चाहिँ जीवनयापनका निम्ति नभई नहुने साधनहरुको खास त्यो मात्रा हो, जुन मजदुरका लागि उसको कार्यक्षमता जोगाएर राख्न र मजदुर वर्गको अस्तित्व कायम राख्न आवश्यक हुन्छ।

यस उदेश्यका निम्ति जति चाहिन्छ, त्यसभन्दा बढी मजदुरले पाउँदैन। त्यसैले गर्दा श्रमको मूल्य अथवा ज्याला ज्यादै नै थोरै हुन्छ। र त्यसमा न्यूनतम साधनको बराबर हुन जानेछ, जुन जीवन धान्नका निम्ति अत्यावश्यक नै हुन्छ। कारोबारमा कहिल्यै फाइदा हुन्छ कहिले नोक्सान पर्दछ। तसर्थ मजदुरले पनि कहिल्यै धैरै त कहिले थोरै ज्याला पाउँछ। ठीक त्यसरी नै कारखानाका मालिकले पनि आफ्नो बस्तुको निम्ति कहिले बढी त कहिले कम रकम पाउँछ।

यदी नाफा र नोक्सानको सरदर हिसाब गर्ने हो भने जसरी कारखानाका मालिकले आफ्नो बस्तुको निमित्त उत्पादनको लागतभन्दा कम वा बेसी पाउँदैन, ठीक त्यसरी नै मजदुरले पनि सालाखाला त्यस न्यूनतम स्तरभन्दा कम वा बेसी पाउँदैन। जति बढी मात्रामा वृहत उद्योगले श्रमका सबै शाखाहरुमा नियन्त्रण जमाउँदै लग्नेछ, त्यति नै कडाइका साथ ज्यालाको यो आर्थिक नियम पनि लागू हुदैं जाने छ।

दास र सर्वहाराको बीचमा के अन्तर छ ?

दासलाई सदाका निम्ति बिक्री गरिएको हुन्छ। सर्वहाराले चाँहि आफूलाई हरेक घण्टा स्वयं बिक्री गरिरहनु पर्दछ। प्रत्येक निश्चित दास कुनै निश्चित स्वामीको सम्पत्ति हो, मालिकलाई आफ्नो सम्पत्तिको माया हुन्छ। त्यसैले दासको जीवन निर्वाहको ग्यारेण्टी हुन्छ। सर्वहाराको श्रम चाहिँ त्यसै बेला मात्र किनिन्छ, जुन बेला कसैलाई त्यो आवश्यक पर्न जान्छ। सर्वहाराको जीविका अनिश्चित हुन्छ।

सर्वहाराको पूरै वर्गको मात्र अस्तित्व कायम राखिएको हुन्छ। दासले प्रतिस्पर्धा गर्नु पर्दैन, परन्तु सर्वहाराले प्रतिस्पर्धाका अवस्थाहरुमा रहनुपर्दछ र त्यसमा भइरहने सबै प्रकारका हलचलको असर पनि उसले स्वयं अनुभव गर्दछ। दास चाहिँ चीजबीज जस्तै ठानिन्छ र उसलाई नागरिक समाजका सदस्यको रुपमा विचार गरिँदैन। सर्वहारालाई भने व्यक्तित्व अर्थात् नागरिक समाजको सदस्य मानिन्छ। यसैले सर्वहाराको तुलनामा दासको जीविका बढी सुगम हुन्छ।

तर, सर्वहारा चाहिँ यस्तो समाजको उपज हो, जुन विकासको बढी उच्च खुड्कलोमा रहेको हुन्छ र स्वयं सर्वहारा पनि दासको भन्दा बढी उच्च स्तरमा रहन्छ। दासले आफूलाई त्यतिबेला मुक्त तुल्याउँछ, जब उसले व्यक्तिगत स्वामित्वका सबै सम्बन्धहरुमध्ये एउटा मात्र दासत्वको सम्बन्धलाई निर्मूल पार्दछ र यसको परिणामस्वरुप त्यतिखेर मात्र ऊ सर्वहारा बन्न पुग्दछ। सर्वहाराले चाँहि आफूलाई त्यसबेला मात्रै मुक्त गर्न सक्दछ, जब उसले पूरै व्यक्तिगत स्वामित्वलाई नै निर्मूल पारिदिन्छ।

भूदास र सर्वहाराको बीचमा के अन्तर छ ?

उत्पादनका साधन र सानो टुक्रा जग्गा भूदासको स्वामित्व र उपयोग रहन्छन्। यसका निम्ति उसले आफ्नो आयस्ताको एक भाग दिन्छ अथवा केही काम पूरा गर्दछ। सर्वहाराले चाहिँ अर्काको मातहतमा रहेका उत्पादनका साधनहरुद्धारा काम गर्दछ र अर्कैको निमित्त काम गरेर यसको सट्टामा आम्दानीको एक हिस्सा पाउँछ। भूदासले दिन्छ, सर्वहारालाई दिइन्छ। भूदासको जीविका सुनिश्चित छ, सर्वहाराको जीविका अनिश्चित छ।

भूदास प्रतिस्पर्धाभन्दा बाहिरै रहन्छ। तर, सर्वहारा चाहिँ प्रतिस्पर्धाका अवस्थाहरुमा निर्भर रहन्छ। भूदासले आफूलाई मुक्त गर्नका निम्ति या त शहरमा भागेर जानुपर्छ, त्यहाँ शिल्पकार बन्नुपर्छ, या त स्वतन्त्र मोही बनेर आफ्नो भूमिपतिलाई काम अथवा वस्तुको बदला पैसा बुझाउनु पर्दछ, या त उसले आफ्नो जग्गावाललाई निकालेर स्वयं नै जग्गा धनी बन्नुपर्दछ।

छोटकरीमा भन्ने हो भने उसले आफूलाई त्यसबेला मात्र मुक्त तुल्याउन सक्छ, जुन बेला ऊ कुनै न कुनै रुपमा सम्पत्ति हुने वर्गको पंक्तिमा समावेश हुन जान्छ र प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गर्दछ। सर्वहाराले चाँहि आफूलाई त्यतिखेर मात्र मुक्त गर्दछ, जब उसले प्रतिस्पर्धा, व्यक्तिगत स्वामित्व र सारा वर्गीय अन्तरहरुलाई नै नामेट पारिदिन्छ।

नयाँ सामाजिक व्यवस्था कस्तो हुनु पर्दछ ?

सर्वप्रथम उद्योग–व्यवसाय र उत्पादनका सबै शाखाहरुको सञ्चालन एक अर्कासित प्रतिस्पर्धा गरिरहने विभिन्न व्यक्तिहरुको हातबाट खोसेर लिइने छ। यसको सट्टा उत्पादनका सबै शाखाहरु सम्पूर्ण समाजकै नियन्त्रणमा रहनेछन्। अर्थात् समाजका हितहरुलाई ध्यानमा राखेर सामाजिक योजनाअनुरुप तिनको सञ्चालन गरिनेछ, जसमा समाजका सबै सदस्यहरुले भाग लिनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्