काठमाडौं, २२ फागुन । पञ्जाबको लुधियानामा प्रेमीसँग विवाह गर्न एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन् । अवैध सम्बन्धमा रहेकी महिलाले आफ्नै छोरीको हत्या गरी पतिलाई छोरीको हत्या आरोपमा फसाउने योजना बनाएको खुल्न आएको छ ।
सुनिता नाम गरेकी युवती आफ्नो पति गुड्डु र डेढ वर्षकी छोरीको साथमा लुथियानाको लक्ष्मणनगरमा बस्थिन् । विवाहको तीन वर्ष भएता पनि उनीहरुबीचको सम्बन्ध खासै राम्रो भने थिएन । यसैबीचमा पत्नी सुनिताको परपुरुषसँगको सम्बन्धको बारेमा पतिले थाहा पाए ।त्यसपछि उनीहरुको नियमित रुपमा झगडा हुने गरेको स्थानीयले बताएका छन् ।
सुनिता आफ्ना प्रेमीसँग विवाह गर्न चाहन्थिन् । जब उनको पतिलाई यो कुरा थाहा भयो तब उनीहरुबीच विवाद झन् बढ्न गयो । त्यसपछि सुनिता घर छोडेर माइत गएर बसिन् । पतिले सुनितालाई पटकपटक घर फर्काउने कोसिस गरेता पनि त्यो प्रयास व्यर्थ बन्यो । तर शनिवार अचानक सुनिता छोरी बोकेर घर फर्किइन् । घर फर्केपछि राती खाना खाएर सबैजना सुते । तर सुनिताले आफ्नी डेढ वर्षकी छोरीलाई तकियाले थिचेर मारेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार सुनिताले पतिलाई उठाएको र पतिले छोरीलाई लिएर अस्पताल गएका थिए । तर अस्पतालले बालिकाको एक घण्टा पहिले नै मृत्यु भएको बताइदिए । त्यसपछि घर फर्केकी सुनिताले पतिलाई छोरीको हत्या गरेको आरोप लगाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।