पञ्जाव, २२ फागुन । पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृतिमन्त्री पदमुक्त भएका छन् । सूचना तथा संस्कृतिमन्त्री फैयाज अल हसन चौहानले हिन्दू धर्मावलम्बीबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि पद गुमाएका हुन् ।
त्यस्तो अभिव्यक्ति दिएपछि मुख्यमन्त्री सरदार उस्मान बुजदारले हसन चौहानलाई डाकेका थिए । त्यसपछि चौहानको राजीनामा आयो । प्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)ले हिन्दू समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेकोमा पन्जाब सरकारद्वारा उनी पदमुक्त गरिएको जनाएको छ ।
मुख्यमन्त्रीको तर्फबाट जारी गरिएको वक्तव्यमा इमरान खान नेतृत्वको दललाई कुनै पनि किसिमको भेदभाव सह्य नहुने कुरा उल्लेख छ । चौहानले हिन्दूहरूलाई गाईको मूत्र पिउनेहरू भन्दै भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए । त्यस्तो अभिव्यक्ति दिएको भिडिओ बाहिर आएपछि त्यसको निकै आलोचना भइरहेको थियो ।
प्रधानमन्त्री इमरान खानका राजनीतिक मामिला सल्लाहकार नईमुल हकले एउटा ट्वीट गर्दै भनेका थिए ‘चाहे सरकारकै वरिष्ठ सदस्य वा अरू कोहीले गरून्, यस्ता कुरा पीटीआईको निम्ति सह्य हुँदैन ।’ उनले हिन्दू समुदायविरूद्ध पन्जाबका सूचनामन्त्री फैयाज चौहानको अपमानजनक भनाइलाई लिएर कडा कारबाही हुनुपर्ने बताए । मुख्यमन्त्रीसँग सल्लाह लिएपछि उनीमाथि कारबाही गरिनेछ ।
विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले ट्विटरमा लेखेका थिए, ‘पाकिस्तानको झन्डामा जसरी गर्वका साथ हरियो रङ्ग सामेल छ, त्यहीँ गर्वका साथ सेतो रङ्ग पनि छ । त्यसले हिन्दू समुदायको योगदानको सम्मान गर्छ र उनीहरूलाई आफ्नो मान्छ ।’