तिमालमा बन्न लागेको स्मृति पार्कमा रवीन्द्र अधिकारीको शालिक राखिने

212121
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ फागुन । पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा काभ्रेको तिमालमा बन्न लागेको स्मृति पार्कमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक राखिने भएको छ ।

पार्क निर्माणको योजना अघि बढाएको ट्रेकिङ एजेन्सिज एसोसियशन अफ् नेपाल (टान) ले एक साताअघि हेलिकप्टर दुर्घटनामा निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री अधिकारी सहित सातै जनाको शालिक राख्न सरकारसँग आग्रह गरेको हो ।

पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा पार्क निर्माण हुँदै गरेको र पर्यटन मन्त्रालय नै सम्हालेका मन्त्रीको पर्यटन प्रबद्र्धनमा लाग्दा लाग्दै निधन भएकाले उनको शालिक राख्न सरकारलाई आग्रह गरिएको टानका निवर्तमान महासचिव कर्ण लामाले बताएका छन् ।

उनले स्मृति पार्क निर्माणमा मन्त्री अधिकारीले समेत ठूलो भूमिका निर्वाह गरेको भन्दै टानले अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परि निधन भएका सबै जनाको शालिक राख्ने विषयमा सरकारसँग आग्रह गरेको जानकारी दिए ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

तिमाल डाँडाको करिब १ सय ४० रोपनी क्षेत्रफलमा स्मृति पार्क बनाउनका लागि ‘टान’ले सन् २०११ देखि काम गरिरहेको छ । स्मृति पार्क निर्माणकार्यलाई अघि बढाउन पर्यटन बोर्डका साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पनि रकम विनियोजन गरेका छन् ।

पार्कको पहिलो चरणको काम अन्तर्गत पार्कस्थलसम्म पुग्ने सिँढी निर्माणको काम बनिरहेको छ ।

बुद्धिस्ट मास्टर ट्रेल अन्तर्गत निर्माण भइरहेको स्मृति पार्कसँगै स्थानीय संस्कृति झल्कने संङ्ग्रहालय, वनभोजस्थल, भ्यु टावरका साथै आश्रम स्थल बनाउने योजनाअनुसार काम भइरहेको टानका निवर्तमान महासचिव लामाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्