अलैँचीकाे उचित मूल्य नपाउँदा कृषक बने निराश

alaichi
लाेकपाटी न्यूज

उदयपुर, २२ फागुन । कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली रुपमा चिनिने अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक यो वर्ष अलैँचीले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् ।

प्रत्येक वर्ष रु. तीन हजारदेखि तीन हजार ५ सय प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो रु ५०० भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् ।

उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका कृषकले उत्पादन गर्दै आएको अलैँचीले यस वर्ष उचित मूल्य पाउन नसकेपछि आफूहरु निराश हुनुपरेको स्वयं कृषकहरु बताउँछन् ।

अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा लगानीसमेत नउठ्ने र अलैँचीबारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने तावाश्रीका कृषक सुकमान तामाङको गुनासो छ ।

उनी भन्छन्, “बरु मङ्सिर, पुससम्म रु. दुई हजार प्रतिकिलो मूल्य थियो, अहिले त झनै अलैँची व्यापारीले रु. ५०० प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नुभन्दा आगोमा डढाएर मन बाँध्नुबाहेक अरु विकल्प छैन ।”

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर, इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो रु. ५०० निर्धारण गरेपछि कृषक मारमा परेका हुन् ।

उदयपुर गढी डुम्रेका अलैँची उत्पादक कृषक डम्बरबहादुर मगर पहिला पहिला अलैँची प्रतिकिलो मूल्य रु चार हजारसम्ममा बिक्री हुने भनेको सुनेर हौसिएर यो खेतीमा लागेको बताउँछन् ।

गाईघाटका अलैँची खरीदकर्ता सुरेश शाहकाअनुसार नेपालका धेरै अलैँची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि आफूहरुले खरीद गरेको अलैँचीको उचित मूल्य हाल्न छाडेपछि आफूहरुले पनि अलैँचीको मूल्य कृषकको मागअनुसार दिन नसकेको बताउँछन् ।

अन्य पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, पाँचथर र इलामका कृषकको अलैँची खेती र बिक्रीबाट आर्थिक आम्दानी भएको सुनेर र देखेर प्रभावित हुँदै दश वर्षदेखि उदयपुरका पहाडी क्षेत्रका कृषकले वर्षेनी व्यापकरूपमा अलैँची खेती वृद्धि गर्दै आएका छन् ।

कृषकले दुःख गरेर उत्पादन गरेको अलैँचीको मूल्य व्यापारीले निर्धारण गर्ने र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा आफूहरु मारमा परेको कृषकहरूको गुनासो छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्