काठमाडौं, २२ फागुन । मनोक्रान्ति केन्द्र नेपालले यही फागुन २६ गतेदेखि काठमाडौंको टुँडिखेलमा ३२औँ मनोक्रान्ति दिवसका अवसरमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी योग साधनाका माध्यमबाट समाज रुपान्तरणमा चेतना जगाउने लक्ष्यसहित निःशुल्क योग शिविर आयोजना गर्न लागिएको जानकारी दिइएको हो । शिविरमा दैनिक एक हजार योग साधक सहभागी गराउने लक्ष्य रहेको मनोक्रान्ति केन्द्र नेपालका संस्थापक डा. योगी विकाशानन्दले जानकारी दिए । शिविरमा सबै व्यक्ति सहभागी हुन सक्नेछन् ।
उपत्यका बाहिरबाट आउने योग साधकका लागि भने संस्थाले नै आवासको व्यवस्था मिलाएको छ । योग शिविर बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म चल्नेछ । शिविर चैत २ गतेसम्म चल्ने जनाइएको छ । वि.सं २०४३ देखि डा. योगी विकासानन्दले सो अभियान सञ्चालन गर्दै आएका छन् । योग साधनाबारे चेतना फैलाउनु कार्यक्रमको उद्देश्य भएको केन्द्रका महासचिव डा. सुवास घिमिरेले बताएका छन् ।