एक वर्षमै चौधरीको २२ अर्ब सम्पत्ति वृद्धि

binod
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ फागुन । विश्वका अर्बपतिहरुको सूचीमा पर्न सफल नेपालका एक मात्र धनाढ्य विनोद चौधरीले एक वर्षमै २० अर्ब भन्दा बढी सम्पत्ति आर्जन गर्न सफल भएको तथ्य खुलेको छ ।

अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ को अर्बपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा रहनुका साथै सो परिमाणमा सम्पत्ति आर्जन गर्न सफल भएको देखिएको हो । चौधरी यस वर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिन सफल भएका हुन् । फोब्र्सको अर्बपतिको सूचीमा गत वर्ष चौधरी १५६१औं स्थानमा थिए ।

फोब्र्सले यस वर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति आर्जन गरेका छन् । जुन बुधबारको विनिमय दरअनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ । चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोब्र्सले जनाएको छ । गत वर्ष चौधरीको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको रहेको थियो ।

चौधरी चौधरी ग्रुप (सीजी) को प्रमुख छन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी रहेको छ ।

चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्