काठमाडौं, २३ फागुन । विद्यार्थीबाट अवैध रुपमा रकम उठाएको आरोप लागेको गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्याल फरार भएका छन् । अर्याल फरार भएपछि प्रहरीले कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको छ ।
विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए । प्रहरीकाअनुसार कलेज सञ्चालक अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरि पौडल, दिनेश पौडेल, तीलक पौडेल, कृष्ण पौडेलको जाहेरी दखास्तमा नाम उल्लेख छ । प्रक्राउ परेका दुवै जनालाई अनुसन्धान गरी मुद्दा चलाउने र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
उनीहरु विरुद्ध सन् २०१५ देखि ०१८ सम्मका एमबीबीएस विद्यार्थीले बुधबार जाहेरी दखास्त दिएका थिए । प्रहरीकाअनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड रूपैयाँ बढी अवैध शुल्क उठाएको देखिएको छ ।
अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चार बुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३६ दिनदेखि आन्दोलनरत छन् । आन्दोलनका क्रममा माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।