रवीन्द्रको श्रद्धाञ्जली सभामा रसाए उपस्थितका आँखा

photo
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राङ्गणमा आज आयोजित श्रद्धाञ्जलीसभामा उपस्थित सबैका आँखा रसाएका थिए । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आयोजना गरेको सो सभामा उपस्थित सबैका आँखा रसाएका हुन् । सहभागीले नेता अधिकारीले पूरा गर्न नसकेको कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अनेरास्ववियूका पूर्वअध्यक्षको तस्वीरमा माल्यापर्ण गर्न पुगेका सबै विद्यार्थीको अनुहार मलिन देखिन्थ्यो । सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले दिवङ्गत भएका अधिकारीले छोडेका कामलाई पूरा गरे मात्र सच्चा श्रद्धाञ्जली हुने बताए ।
उनले भने, “अधिकारी निधन भएको पीँडा पोख्दा मेरा आँखाबाट समुद्र बग्न सक्दछ तर अब आँखाबाट समुद्र बगाएर हँुदैन । उहाँका अधुरा सपनालाई पूरा गर्न म सङ्कल्प लिन्छु ।” नेता गौतमले आफू जति समय बाँचे पनि अधिकारीकै उत्तराधिकारी भएर काम गर्ने बताए ।

पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले पछिल्लो पुस्ताको राम्रो नेताका रूपमा अधिकारी रहेको आफूले पाएको भन्दै जस्तोसुकै परिस्थितिलाई पनि जिम्मेवारीपूर्वक बहन गर्ने कुशलता रहेको उल्लेख गरे । “कम्युनिष्ट आन्दोलन हाँक्न सक्ने युवा नेताका रूपमा मैले हेरेको थिएँ”, नेता गौतमले भने, “वर्ग सङ्घर्ष दर्शनमा पोख्त, राजनीतिक क्षेत्रमा धेरै कुरा हासिल गरी सफलता प्राप्त गर्ने व्यक्तिका रूपमा मैले पाएको थिए ।”

राष्ट्रियसभामा नेकपाका सचेतक तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले वैचारिक र साङ्गठनिक रूपमा सबैले भविष्य भएको नेताका रूपमा अधिकारीलाई लिएको बताए । सभामा त्रिविका उपकुलपति डा. तीर्थप्रसाद खनियाँले छोटो अवसरमा पछिल्लो पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेरहदबन्दी कायम गर्नमा अधिकारीको भूमिकासमेत रहेको बताए ।

सभामा नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले आफूहरूको पुस्ताको आशा भरोसाको नेताका रूपमा अधिकारीलाई पाएको बताए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एउटै कमिटीमा रहेर काम नगरे पनि संयुक्त विद्यार्थी आन्दोलनलाई फरक रचनात्मक ढङ्गले लगेको बताए ।

सभामा क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले अधिकारीले अखिलको मात्र नभएर समग्र विद्यार्थीको अभिभावक रहेको बताए ।

शर्माले कुनै पनि विद्यार्थी आन्दोलनलाई निष्र्कषमा पु¥याउन उनको भूमिका अतुलनीय रहेको बताए । दुवै सङ्गठनले गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन रवीन्द्र अधिकारीका नाममा रु. २० लाखको अक्षय कोष स्थापना गरेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।