काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीले एक बर्षमा दुनियाँलाई चकित पार्ने गरी असाधारण सुधारको काम गरेको बताएका छन् । नेकपा केन्द्रीय कार्यालयले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री ओलीले रवीन्द्रको कामलाई कसैले पनि ओझेलमा पार्न नसक्ने बताए ।
उनले भने, ‘रवीन्द्र अधिकारी एक बर्ष मन्त्री हुनुभयो । एक बर्षमा उहाँले बिर्सिन नसकिने काम गर्नुभयो, उहाँका कामहरुलाई कसैले पनि उपेक्षा गर्न नसक्ने गरी प्रभाव छोडेर जानुभयो ।’ ओलीले रवीन्द्रले गरेको जति काम कुनै पनि मन्त्रीले धेरै समयमा पनि गर्न नसक्ने समेत बताए ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्र अधिकारीको कामले नै सबैलाई जवाफ दिने गरेको छ, संस्कृतिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, नागरिक उड्डयनका क्षेत्रमा उहाँले गरेका काम र योजनाहरु असाधाराण रहेका छन ।’ प्रधानमन्त्री ओलीले अहिले आलोचना गर्दा मात्रै वाहवाही हुने गरेको यथार्थबीच रवीन्द्र अधिकारीले कामबाट जवाफ दिने गरेको बताएका छन् । ‘केही पनि भएन, हुँदै भएन, कतै केही भएन भन्ने छँदैछ तर यसबीचमा असाधारण कामहरु भएका छन, रविन्द्रले एक बर्षमा असाधारण कामहरु गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
यस्तै उनले अर्का नेता भरतमोहन अधिकारीप्रति पनि उच्च सम्मान प्रकट गर्दै भने, ‘भरतमोहन अधिकारी कामबाट चिनिएको व्यक्ति हुनहुन्थ्यो । कडा शब्द प्रयोग गर्न नचाहने, मिलनसार र एउटा काममा विश्वास गर्ने नेता हुनुहुन्थ्यो । ६ दशक भन्दा बढी नेपालको लोकतान्त्रिक आन्दोलन, बामपन्थी आन्दोलनमा सदाबहार र निरन्तर लाग्नुभएका नेता हुनुहुन्थ्यो । निरन्तर अभियन्ता हुनुहुन्थ्यो ।’
उनले हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै जीवन गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र उपसचिव युवराज दाहाललाई विकासमा लागिपरेका योद्धाको संज्ञा दिए ।
‘पर्यटन क्षेत्रमा आङछिरिङले राम्रो काम गरेर एक प्रकारको साम्राज्य जस्तै बनेको थियो । नराम्रो केही गर्नुभएन, सवै राम्रो काम गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘जहिले पनि विकासका कुरा गर्ने, योजना बनाउने गर्नुहुन्थ्यो युवराज दाहाल । विकासको पक्षमा, सुशासनको पक्षमा, समृद्धिको पक्षमा युवराज सधंै दत्तचित्त भएर काम गर्ने गर्नुहुन्थ्यो ।’