सरकारले सार्वजनिक गर्याे नेपालकाे नयाँ नक्सा

padma
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा रिबन काटेर सार्वजनिक गरिन ।

नापी विभागका उप महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा नक्सा निर्माण तयार गर्न गठित समितिले नक्सा तयार गरी सरकारलाई बुझाएको हो । समितिले तयार गरेको नक्सा बुझ्दै मन्त्री अर्यालले प्रदेशको नामसहितको नक्सा सार्वजनिक गर्न चाहेकोमा सो पुरा गर्न नसकेको बताइन्। हामीले पुरानो नक्सा प्रयोग गर्दै आएका थियौं । यस विषयमा पटकपटक कुरा पनि उठेको थियो, उनले भनिन्, ‘प्रदेशको नामसहित नामाकरण गरिएको नक्सा सार्वजनिक गर्ने हाम्रो पनि चाहना हो तर गर्न सकिएन ।’

हाल तयार पारिएको नक्सामा ३ वटा प्रदेशको मात्र तथ्यांक रहेको बताउँदै उनले अन्य प्रदेशको नक्सामा भने अंक र संकेत चिन्ह प्रयोग गरिएको जानकारी दिइन । मन्त्रालयले सबै पालिका र कार्यालयमा नक्सा र्पुयाउने अभियान चाल्ने बताएको छ ।

त्यस अवसरमा नक्साका बारेमा जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक छिट्टै गर्नुपर्ने भएपनि प्रदेशहरूको नामांकरण नभएका कारण ढिलाइ भएको बताए । तर, हालसम्म पनि प्रदेशहरूको नामांकरण नसकिएकाले ढिलो गर्दा समस्या हुनसक्ने भएकाले मन्त्री अर्यालको निर्देशनमा हालका लागि ३ प्रदेशको मात्र नामांकरण गरिएको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिए ।

नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, शहरहरू, सिमाहरू, निकुञ्जहरू, नदिहरू, प्रमुख ठाउँहरूको नाम उल्लेख गरिएको छ । नेपाली भाषामा प्रकाशन गरिएको यस नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताए । यसलाई क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ ।