भारतले जारी गर्‍यो २० रुपैंयाको नयाँ सिक्का

Modi
लाेकपाटी न्यूज

नयाँ दिल्ली । भारत सरकारले १ रुपैंया, २ रुपैंया, ५ रुपैंया, १० रुपैंया र २० रुपैंयाको नयाँ सिक्का जारी गरेको छ । यी सिक्काहरु दृष्टिविहिनहरुलाई मध्यनजर गर्दै प्रचलनमा ल्याइएको हो ।

बिहिबार यी सिक्का भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र वित्त मन्त्री अरुण जेटलीले जारी गरेका हुन् । २० रुपैंयाको सिक्काको अलावा अरु सिक्का गोलो आकारका छन् । २० रुपैंयाको सिक्का भने पहिलो पटक प्रचलनमा ल्याइएको हो ।

२० रुपैंयाको सिक्का १२ कुना भएको छ भने सो सिक्का ८.५४ ग्रामको छ । वित्त मन्त्रालयको सूचनामा सो कुरा उल्लेख गरिएको छ । नयाँ सिक्काको सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले भने, ‘सरकार लाइनमा उभिएको अन्तिम व्यक्ति सम्म पुग्न चाहन्छ त्यसै हिसाबले यो सिक्का बनाइएको हो ।’

२० रुपैंयाको नयाँ सिक्का अगाडि अशोक पिलर छ, जसमा सत्यमेव जयते लेखिएको छ । यस सिक्कामा रुपैंयाको नयाँ चिन्ह पनि राखिएको छ । उक्त सिक्कामा कृषिको महत्व देखाउन अनाजहरु समावेश गरिएको छ ।

१० रुपैंयाको सिक्काको कुनामा चिन्ह राखिएको छ भने २० रुपैंयाको सिक्कामा कुनै चिन्ह राखिएको छैन् । रिजर्व बैंकले १० रुपैंयाको सिक्का १० वर्ष पहिले मार्च २००९ मा जारी गरेको थियो भने त्यसपछि यस सिक्कामा १३ पटक परिवर्तन गरिएको छ । यसै कारणले मानिसलाई १० रुपैंयाको सिक्का नक्कली हो भन्ने भ्रम पनि भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्