‘कम्युनिष्ट सरकारको शाख गुम्न दिने छैनाैं’ : मन्त्री चौधरी

145145
लाेकपाटी न्यूज


पश्चिम नवलपरासी, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश नं. ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नेपाली जनताले विश्वास गरेर नेकपालाई दुई तिहाईको हाराहारीमा मत दिएर देशलाई विकास र समृद्ध बनाउने अभिभारा दिएको भन्दैे जनताको आशा र नेकपाको साख जोगाउन आफूहरु निरन्तर प्रयासरत रहेको बताएका छन् ।

नेकपा पश्चिम नवलपरासीले आज परासीमा गरेको संयुक्त श्रद्धाज्जली सभामा बोल्दै मन्त्री चौधरीले कम्युनिष्ट सरकारको साख जोगाउन सङ्घ, प्रदेश र स्थानीय सरकार अनवरत रुपमा लागिरहेको उनले बताएका छन् । नेकपा पश्चिम नवलपरासीले नेकपाका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन मन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं. ५ का सांसद उत्तरकुमार ओलीको स्मृतिमा संयुक्त श्रद्धाञ्जली सभा गरेको थियो ।

कार्यक्रममा मन्त्री चौधरीले नेकपाले मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेलेका तीन जना होनाहार नेताहरुलाई एकै समयमा गुमाउनुपर्दा नेकपा पार्टीलाई मात्र नभएर समृद्ध नेपाल बनाउने अभियानमै धक्का पुगेको बताए ।

नेकपाका जिल्ला कार्यदल सदस्य एवं पूर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपाका पूर्व केन्द्रीय सल्लाहकार केशरमणी पोखरेल, जेष्ठ कम्युनिष्ट मञ्चका पूर्व केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, प्रदेश सदस्य बृहस्पति अधिकारी, प्रदेश सदस्य तथा जिल्ला कार्यदल सदस्यहरु तुलसी पासी, सीता बौडेल, प्रदेश सभा सदस्य दीपेन्द्र अधिकारी, जिल्ला कार्यदल सदस्य थानप्रसाद गैरे, संविधान सभाका पूर्व सदस्य सिन्धु जलेसा, बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, सुनवल नगर कमिटी अध्यक्ष ओम पुन, नेपाल पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मी लगायतले स्वर्गीय नेताहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्