‘बलात्कारका घटनामा मिलापत्र गराए कारवाही हुन्छ’ : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज
0 Shares

सुर्खेत, २३ फागुन । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जबर्जस्तीकरणी र महिला हिंसाको मुद्दामा कुनै पनि हालतमा मिलापत्र हुन नसक्ने बताएका छन् । कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको विरेन्द्रनगरमा आज शुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी खनालले आत्महत्या गर्न उत्प्रेरित गर्नेलाई समेत अहिलेको कानूनले कानूनी कारबाहीको दायरामा ल्याएको उल्लेख गरे ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि मानव बेचविखन अनुसन्धान ब्यूरो स्थापना भएको र त्यसका लागि ११७७ नम्बरको हटलाईन समेत सञ्चालनमा आईसकेको आईजीपी खनालले जानकारी गराए । कार्यक्रममा बोल्दै आईजीपी खनालले भने, ‘बम विस्फोट, आगजनी तथा तोडफोड, मानव बेचविखन र रोजगारीको नाममा ठगी गर्नेलाई कडाइका साथ कारबाही गरिने छ ।’

चोरी निकासी, तस्करी, राजश्व चुहावट तथा आतंकवादी गतिविधि नियन्त्रणका लागि विशेष अभियान शुरु गरिने पनि उनको भनाई थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रभावकारी नजिता ल्याउने विश्वास गर्दै गृह मन्त्रालयको लागूऔषध निषेध मदिरा नियन्त्रणको मुख्य नारालाई व्यवहारिक रुपमा अवलम्बन गरी उल्लेखनीय नतिजा हात पारेको समेत उनले दाबी गरे ।