नेकपा प्रवेश गर्लान् त सिके राउत ?

Ck raut
लाेकपाटी न्यूज

काठमाडौं २४ फागुन। पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सिके राउतले उक्त एजेण्डा परित्याग गरेका छन्। तर, उनी नेकपामा प्रवेश गर्न लागेका हुन् वा होइन, त्यसबारे केही खुलाइएको छैन।

सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन्। राउत बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन्। स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।

तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतायो । यसै कुरालाई ध्यान दिएर फागुन २५ गते मधेशमा सभाको आयोजना गरिएको छ।

उक्त सभामा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। उक्त जनसभामा नेकपाको नेताहरुले मधेशप्रति पार्टीको दृष्टिकोण प्रष्टाउने स्रोतले बताएको छ।

आजको सभागृहको सम्बोधन र भोलिको मधेश सभालाई चासोका साथ हेरिएको छ। कतिपयले सिके राउत औपचारिक रुपमै नेकपामा आउनसक्ने बताएका छन्। तर, शीर्ष नेताहरु अहिले नै पार्टीृमा ल्याउँदा राम्रो सन्देश नजाने बुझाइमा रहेको बताइन्छ।