किन हाल्यो हुवाईले अमेरिकाविरुद्ध मुद्दा ?

huawei
लाेकपाटी न्यूज

एजेन्सी । चिनियाँ प्रविधि कम्पनी हुवाईले अमेरिका सरकारविरुद्ध मुद्दा दायर गरेको छ । हुवाईले उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको हो ।

तर, अमेरिकाले आफ्ना राष्ट्रिय सुरक्षाबारे चासो रहेको भन्दै हुवाईको उत्पादनहरूमाथि प्रतिबन्ध लगाएको थियो । उसले आफ्ना साझेदारहरूसँग ह्वावेईलाई एक्ल्याउनेबारे पहल गरिरहेको छ ।
अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै हुवाईले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोर्होयाएको छ । हुवाई विश्वको एउटा प्रमुख दूरसञ्चार उपकरण र सेवा प्रदायक कम्पनी हो।

आफूविरुद्ध लागेका आरोपको खण्डन गर्दै हुवाईले कानुनी उपचार खोज्ने बाटो रोजेको हो । हुवाईका अध्यक्ष गु पिङले अमेरिकी संसद हुवाईका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने कारण बताउन पटकपटक विफल भएको बताए । जसका कारण अन्तिम उपायको रूपमा कानूनी प्रक्रियामा जान आफुहरु बाध्य भएको उनको भनाइ छ ।

उनले भने, ‘त्यो प्रतिबन्ध गैरकानुनी मात्र छैन यसले हुवाईलाई निष्पक्ष प्रतिस्पर्धामा संलग्न हुनबाट समेत रोकेको छ । त्यसको सबैभन्दा बढी असर अन्तत अमेरिकी सेवाग्राहीहरूलाई नै पर्नेछ ।’

हुवाईले संविधानको राष्ट्रिय प्रतिरक्षा ऐनअन्तर्गत रहेको एउटा व्यवस्थालाई चुनौती दिएको छ ।उक्त मुद्दा टेक्ससस्थित अमेरिकी सङ्घीय अदालतमा दायर गरिएको छ । एउटा विज्ञप्तिमा ह्वावेईले आफ्नो कम्पनीमा चिनियाँ सरकारको ’स्वामित्व, नियन्त्रण वा प्रभाव’ केही नरहेको उल्लेख गरेको थियो ।

अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका थुप्रै देशले सुरक्षा कारण बताउँदै आफ्ना दूरसञ्चार कम्पनीहरूलाई ’फाइभ जी’ सञ्जालमा हुवाईका उपकरण प्रयोग गर्न रोक लगाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्