‘विखण्डनको सपना कसैले नदेखे हुन्छ’ : विष्णु पौडेल

Bishnu paudel
लाेकपाटी न्यूज

रुपन्देही, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले राष्ट्र विखण्डनको सपना नदेख्न सबैलाई सुझाएका छन् । उनले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको समेत बताएका छन् ।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै पौडेलले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए । उनले भने, ‘राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्र्याउन चाहनेलाई करारी चोट दिएको छ । अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ ।’

महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेको समेत बताएका छन् ।

उनले ‘छुट्टै मधेश’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिए । भने, ‘नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हँुदैन । सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।’

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा केन्द्रीय सरकारले शुरु गरेका योजना पूरा गर्न बजेट समस्या रहेकाले पहल गरिदिन महासचिव पौडेललाई आग्रह गरेका छन् ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केन्द्रीय सरकारका कारण भूमिनीति अल्मलिएकाले तत्काल कार्यान्वयन गर्न जरुरी रहेको धारणा राखेका छन् । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष वीरमान लामा र वरिष्ठ सल्लाहकार बलराम न्यौपानेले सुन्दरनगरवासीको सुकुम्वासी समस्या साझा भएकाले यसको छिटो समाधानका लागि पहल गरिदिन महासचिव पौडेललाई अनुरोध गरेका छन् ।