सिके राउतसँग प्रचण्डको तुलना हुनै सक्दैन : नेता रावल

भीम रावल01
लाेकपाटी न्यूज

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सिके राउतसँग तुलना गरेकोमा आफूलाई दुःख लागेको बताएका छन् ।

सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सिके राउतसँग तुलना गर्न नमिल्ने बताएका हुन् ।

सरकार र सिके राउतबीचको ‘सहमति कार्यक्रम’ आफूले प्रत्यक्ष प्रशारणबाट हेरेको सुनाउँदै उनले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गर्दै भने, ‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो । देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो । यसबारेमा ऋषिजीले पनि प्रचण्डलाई प्रश्न सोध्नुहोस ।’

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे । उनले भने, ‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्शनिक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ? म प्रश्न गर्न चाहन्छु ।’