७५ फिट अग्लो ‘नेपाल आमाको मूर्ति’

12
लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुर, २५ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।

भ्याली कन्स्ट्रक्सन प्रा.लिले रु. १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गरेका थिए ।

भ्रमणका क्रममा उनले रु. १ करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गरेका थिए । भीमदत्त नगरपालिकाले मूर्ति निर्माणका लागि रु. १ करोड उपलब्ध गराउने घोषणा गरेको छ ।

मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ ।

अष्टधातुको नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने जगतगुरुले बताए । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ । मूर्ति निर्माण कार्यको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्