सहकारीबाट आर्थिक स्तर सुधारौं : मन्त्री अर्याल

Padma Aryal (12)
लाेकपाटी न्यूज

ललितपुर, २६ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन सहकारीकर्मी महिलाहरूलाई आग्रह गरेकी छन्।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आइतबार शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले इज्जत, प्रतिष्ठा कमाउनका निम्ति जुनसुकै क्षेत्रमा काम गरे पनि हुने भन्दै आफूलाई रूची भएको ठाउँमा लागेर काम गर्न आग्रह गरिन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्ने कार्यमा लाग्न आग्रह गरिन्।

‘तपाईहरू राम्रो सहकारीकर्मी बन्नुस्। सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत् आत्मनिर्भर बनाउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘आफूजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो। आफूमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन्। सहकारीमा लागेपछि आफू पनि बन्ने र अरूलाई पनि बनाउने हो।’

सहकारीमार्फत् महिलाहरूको सशक्तिकरण भइरहेको भन्दै उनले अब क्षमताको विकास गर्नुपर्ने बताइन्। नेपालमा महिला आन्दोलन बोल्न पाउने, लेख्न पाउने, चुन्न र चुनिन पाउने अवस्थादेखि शुरू भएर अहिले करिब चार हजार महिलाहरू महत्वपूर्ण ठाउँमा जनप्रतिनिधिको रूपमा चुनिने अवस्था आएको मन्त्री अर्यालले उल्लेख गरिन्।

२०४६ सालको जनआन्दोलन देखि २०६२–०६३ सालको आन्दोलनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले महिलाहरूले लुकेररछिपेर मध्यरातमा होस् वा दिनमा आन्दोलनमा शंखघोष नगरेको भए परिवर्तन सम्भव नहुने बताइन्।

अबको महिला आन्दोलनको दिशा भनेको सशक्तिकरणकै भएको भन्दै उनले हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी दाबेदारी प्रस्तुत गर्नुपर्ने बताइन्। ‘अबको महिला आन्दोलनको दिशा सशक्तिकरणको हो। अब राजनीति, ब्यवसाय, उद्यम, बैंक, कर्मचारी, कुटनीतिक नियोग लगायतका हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गरौं’, मन्त्री अर्यालले भनिन्।

अबको महिला आन्दोलनले रिजल्ट दिन आर्थिक रूपमा सबल बन्नैपर्ने उनको भनाइ थियो। ‘जबसम्म महिलाहरू आर्थिक रूपमा सक्षम बन्दैनन्, तबसम्म पूर्ण स्वतन्त्रता प्राप्त हुदैन’, उनले भनिन्, ‘आर्थिक रूपमा सबल बनाएपछि मात्रै महिलाहरू स्वतन्त्र हुन्छन्।’

आफ्नो आवश्यकता पूरा गर्नका लागि अब सहकारीले महिलालाई गरेर खाउ भनेर सीप दिनुपर्ने मन्त्री अर्यालले बताइन्। सहकारीमा जम्मा भएका पूँजीलाई लगानी गरेर आर्थिक उपार्जनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो।

सहकारीहरूलाई दिने अनुदानमा अब तल्लो स्तरबाट उठेका र उठ्ने कोशिस गरिरहेका सहकारीलाई प्राथमिकता दिइने उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्