दुई विकास बैंकबीचको एकता प्रक्रिया शुरु

banks4176
लाेकपाटी न्यूज

बुटवल, २७ फागुन । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् ।

बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको जनाइएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो ।

एकतापछि पनि एकीकृत बैंकको नाम भने ‘शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड’ राख्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । साथै एकतापछि साइन रेसुङ्गा डेवभपमेन्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा स्थापना गरिने छ ।

शाइन रेसुङ्गाको रु. १ अर्ब ६२ करोड २६ लाख चुक्ता पूँजी रहेको र रु. ५५ करोड १२ लाख चुक्ता पूँजी भएको पूर्णिमाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । शाइन रेसुङ्गाको निक्षेप रु. १६ अर्ब १० करोड २३ लाख र पूर्णिमाको रु. तीन अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ शाइनको रु. १४ अर्ब ५२ करोड ३६ लाख र पूर्णिमाको रु. ३ अर्ब ४ करोड ६७ लाख रहेको कार्यक्रममा जानकारी गराइएको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णिमाका १२ वटा शाखा कार्यालय रहेका छन् ।

यसअघि शाइन रेसुङ्गा बंैकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसैगरी रुपन्देहीमा स्थापित शाइन र गुल्मीमा स्थापित रेसुङ्गा एकापसमा गाभिएर शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो ।

यस क्षेत्रका १० जिल्लामा कार्यक्षत्र रहेको शाइन रेसुङ्गा र तीन जिल्लामा मात्र कार्यक्षेत्र रहेको पूर्णिमाबीच एकता भएसँगै थप कार्यक्षेत्र विस्तारका लागि सघाउ पुग्ने विश्वास बैंक सञ्चालकले लिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्