मेयर शाक्यकाे निर्देशन : मखन आगलागीकाे क्षति विवरण स‌ंकलन गर्नुहाेस्

C454544
लाेकपाटी न्यूज

काठमाडौं, २७ फागुन । काठमाडौंको मखनमा भएको आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य सोमबार बिहान मखन यट्खा पुगेका छन् ।

महानगरको २४ वडामा पर्ने यस स्थानमा गएको बिहीबार मध्यान्न १२ बजे सल्किएको आगो साँझ ७ बजे पूर्ण नियन्त्रणमा आएको थियो । भित्री सहर, पुराना संरचनामा आगो लागेकोले निभाउन समय लागेको थियो ।

विपद् व्यवस्थापन बिभागका अधिकारीसहित घटनास्थल पुग्नु भएका मेयर शाक्यले जलेका घरको अबस्था अबलोकन गरिसकेपछि जनप्रतिनिधि, प्रभावित परिवार र स्थानीयसँग घटनाको अवस्था बुझेका थिए ।

त्यस क्रममा आगलागीमा घाइते भएका राजन थापाकी आमा कमला थापाले छोरा खतरामुक्त भएको जानकारी गराएकी थिए । अनुहारमा दाग नबसोस् भनेर साना—साना गरेर छोराको अनुहारमा १०० टाँका लगाएको जनाउँदै कमलाले आगलागीमा सबै गुमाएपछि अहिले आफन्तकोमा बसिरहेको पनि सुनाइन् । उनकाअनुसार ग्याँस पड्किँदा आएको आवाजले झ्यालका शिशा फुटेका थिए । तिनै शिशाले राजनको आनुहारमा चोट लागेको हो ।

घटना स्थलको अवस्था र समस्या समाधान गर्नु पर्ने आवश्यकतामा कुरा गर्दै मेयर शाक्यले बिपद् व्यवस्थापन विभागलाई घटना, घटनास्थल र क्षतिको तथ्य संकलन गर्न निर्देशन दिए ।

उनले अवलोकनका क्रममा सँगै रहेकी बिभागका प्रमुख अर्चना श्रेष्ठलाई निर्देशन दिँदै मेयर शाक्यले भने, वडा कार्यालय, स्थानीयबासी र प्रभावित परिवारसँग समन्वय गरेर तत्काल क्षतिको विवरण तयार पार्नोस्, वडाबाट राहतका कार्यक्रम अघि बढाउनोस् ।

विभागले, तत्कालका लागि १ लाख रुपैयाँ वडामा पठाउने तयारी गरेको, विभागीय प्रमुख श्रेष्ठको भनाइ छ । उनले भनिन् , क्षतिको विवरण लिन आजै इञ्जिनियरसहितको टोली पठाउँदैछौं ।

प्रारम्भिक सूचनाअनुसार, रञ्जु तुलाधार, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्ण क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति पुगेको छ । पूर्ण क्षति भएका घरमा ८ परिवार बसोबास गरिरहेका थिए । ती परिवारले प्रयोग गर्ने ग्याँससमेत बल्न थालेपछि आगो नियन्त्रण गर्न कठिन परेको जुद्ध बारुणयन्त्र कार्यालय काठमाडौंका प्रमुख बद्रीमान नगरकोटीको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्