श्रमिक खुसी भए उद्योग–व्यवसाय फस्टाउँछ : मन्त्री विष्ट

gokarna-bista
लाेकपाटी न्यूज

रुपन्देही, २७ फागुन। श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रोजगारदाता र श्रमिकबीच सन्तुलन पैदा गर्ने धारणा राखे।

उद्योगी–व्यवसायीको जोखिम अन्त्य गर्न राज्यले योजना ल्याएकाले योजना कार्यान्वयनमा साथ दिन उनले आग्रह गरे। “सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ”, उनले भने, “श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ।”

रोजगारीका लागि विदेशिने युवालाई रोक्न सुरक्षा योजना महत्वपूर्ण हुने मन्त्री विष्टको विश्वास छ। “श्रम बजार श्रमिकबीचको जटिलता अन्त्य गर्न समयमै पहल नभए देश जटिलतातिर जान्छ”, उनले भने, “श्रमशक्तिको अभावमा बेहोर्नुपर्ने सङ्टकको समाधानका लागि ध्यान दिन जरुरी छ।”

सामाजिक सुरक्षा योजना देशका लागि नौलो विषय भए पनि यसको कार्यान्वयनपछि उद्योगी, व्यवसायी र श्रमिकमा खुशी छाउने मन्त्री विष्टले विश्वास व्यक्त गरे। उद्योगीका कठिनाइलाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै उनले उदार बनेर मजदुरको जीवनस्तर उकास्न सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे।

उनले भने, “मजदुरको पीडाले उद्योगीलाई पनि पीडा हुन्छ, उनीहरुको मुहारमा खुशी छाउँदा उद्योगीको मुहारमा पनि खुशी छाउँछ।” उनले सञ्चार संस्था, अस्पताललगायत सबै संस्थान र प्रतिष्ठानमा सामाजिक सुरक्षा योजना लागू हुने बताए।

प्रदेश नं.–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अहिलेको मुख्य समस्या बेरोजगारी घटाउनु भएकाले सामाजिक सुरक्षा योजना कार्यान्वयन जरुरी रहेको बताइन्। उमेर छँदासम्म विदेशमै पसिना बगाउने, उमेर गएपछि स्वदेश फर्किंदा केही गर्न नसक्ने अवस्था हुने उनको भनाइ थियो।

सामाजिक सुरक्षा योजनाबारे जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव महेशप्रसाद दहालले सामाजिक सुरक्षा योजना सबैको हितमा रहेको बताए। उनले भने, “योजना राम्रो छ, तर कार्यान्वयनका लागि सबैको सहयोग चाहिन्छ।” योजना आगामी साउन १ गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा आउने उनले जानकारी गराए।

सचिव दहालले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा र वृद्धावस्था सुरक्षाको सुविधा उपलब्ध गराइने जानकारी गराए।

योगदानमा आधारित ‘सामाजिक सुरक्षा योजनाको अवस्था र कार्यान्वयका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण भएको बताए। योजनामा सहभागी श्रमिकले रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत प्राप्त गर्ने उनले बताए।

“सुविधाका लागि श्रमिकले आधारभूत पारिश्रमिकको ११ र रोजगारदाताले २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ”, अधिकारीले भने। रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले सामाजिक सुरक्षा योजना सम्बन्धमा उद्योगी–व्यवसायीको बुझाइ स्पष्ट पार्न कार्यक्रम गरिएको बताए।

अन्तरक्रियामा सुरक्षा योजना सम्बन्धमा आफ्ना धारणा राख्दै उद्योगी–व्यवसायीले हतारमा सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्न सुझाव दिए। उनीहरुले उद्योगको अवस्था अध्ययन नगरी योजना ल्याउँदा रोजगारदातालाई कार्यान्वयन गर्न कठिन हुने धारणा राखे।

इट्टा व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरे, उद्योगी व्यवसायीह नारायणप्रसाद घिमिरे, डम्बरदेव अर्याल, गुणनिधि तिवारी, विदुर ढुङ्गाना, घनश्याम घिमिरे, चन्द्रमान श्रेष्ठ लगायतले रुपन्देहीका अधिकांश उद्योग भारतीय मजदूरको भरमा सञ्चालनमा रहेकाले योजना कार्यान्वयनमा समस्या रहेको बताए।

उनीहरुले राष्ट्रिय औद्योगिकीकरण बिना समृद्धि सम्भव नभएकाले सामाजिक सुरक्षा लागू गर्दा उद्योग धराशयी बन्ने आशङ्का व्यक्त गरे। उद्योगीले आर्थिक भारबाट मुक्ति पाउने हो भने मात्रै यो योजना कार्यान्वयन गर्न सुझाव दिए। उद्योगीहरुले पहिले उद्योगको सुरक्षा नीति ल्याएर मात्रै मजदूरको सुरक्षा योजना बनाउनु उचित हुने धारणा राखे।

उनीहरुले सामाजिक सुरक्षा योजनाबारे अनेक टिप्पणी भइरहेकाले तल्लो तहबाटै सचेतना फैलाउन आवश्यक रहेको बताए। मजदुर नेताहरुले सामाजिक सुरक्षा योजनाले श्रमिकसँगै उद्योगी–व्यवसायीलाइ पनि फाइदा हुने भएकाले नआत्तिन आग्रह गरे।

ट्रेड युनियन महासङ्घ ‘जिफन्ट’का केन्द्रीय उपाध्यक्ष तथा सामाजिक सुरक्षा संयोजक कमल गौतमले सामाजिक सुरक्षा योजना सबैको हितमा रहेकाले कार्यान्वयनका लागि साथ दिन आग्रह गरे। सुरक्षा योजनाका कारण श्रममा सुधार हुने उनले दाबी गरे।

ट्रेड युनियन काङ्ग्रेसका जिल्ला अध्यक्ष काजिमान श्रेष्ठले सामाजिक सुरक्षा योजना मजदूरको हितमा रहेकाले यसको कार्यान्वयनका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए। उनले श्रम बजार व्यवस्थित गरी रोजगारीका लागि विदेशिनेलाई स्वदेशमै रोजगारीमा लगाउन सुरक्षा योजनाले सघाउ पुर्याउने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्