‘निजी विद्यालयको अस्तित्व समाप्त हुन सक्दैन’ : सभामुख

Krishna Bdr Mahara
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निजी विद्यालयको अस्तित्व तत्कालै समाप्त नहुने बताएका छन् । उनले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेर सरकार अगाडि बढिरहेकाले निजी विद्यालयको अस्तित्व तत्काल नहुने प्रष्ट पारे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई अझै स्तरीय बनाउने प्रक्रियामा भने सबैले साथ दिनुपर्ने बताएका छन् ।

सभामुख महराले भने, ‘शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र पार्नुपर्छ तर यति छिटो निजी विद्यालयलाई अङ्कुश बनाउन सम्भव छैन । अहिले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्दै समृद्धिको दिशामा जानुपर्छ । समाजवादमा पुग्न धेरै समय लाग्छ, त्यसबेलाका लागि सोच्ने कुरा अर्कै हो ।’

उनले यस सवालमा सरोकार भएका सबैसँग पर्याप्त छलफल गरेर मात्रै सङ्घीय शिक्षा ऐन ल्याउन आफूले सरकारलाई पनि आग्रह गरेको जनाउँदै निजी विद्यालयका सञ्चालकहरुलाई नआत्तिन आग्रह गरे ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सेवाको क्षेत्रका रुपमा हेरिनुपर्ने र सामुदायिक विद्यालयको स्तरमाथि उठाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पोखरेलले भने, ‘तपाईंहरु चिन्तामुक्त हुनुहोस्, अहिले कुनै सङ्कट छैन । तपार्ईंहरुको लगानी र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ । शिक्षा अरु व्यवसाय जस्तो होइन । सरकार नयाँ शिक्षा नीति कानून ल्याउने तयारीमा छ, तपाईंहरु संवाद र सहकार्यमा आउनुहुने विश्वास मैले लिएको छु ।’

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्न नसकेको अवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा निजी क्षेत्रको भूमिकालाई स्वीकारेको भएपनि संविधानको कार्यान्वयनका सन्दर्भमा सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माणको प्रक्रियामा सरकार अघि बढिरहेकाले त्यसमा सहकार्य गर्न आग्रह गरे ।

‘आम मानिसको जीवनस्तरमाथि उठ्ने र उनीहरु खुशी हुने बाटोको खोजी गर्ने क्रममा शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रुपमा र विज्ञान, प्रविधिलाई उत्पादन शक्तिका रुपमा लिनुपर्छ’ उनले भने ।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सार्वजनिक र निजीका बीचमा देखिएका खाडललाई चिर्दै निजी क्षेत्रलाई उच्च शिक्षामा लगानी गर्न पनि सुझाव दिएका छन् ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले निजी विद्यालयलाई नियोजन नगरी निरीक्षण मात्र गर्नुपर्ने भन्दै नेपालका विद्यार्थी विदेशमा लान खोज्ने माफियाले निजी विद्यालय बन्द गराउने षड्यन्त्र गर्न सक्ने उल्लेख गरे ।

सरकारको आर्थिक क्षमता कमजोर भएकाले निजी लगानीको क्षतिपूर्ति दिन नसक्ने भएकाले निजी विद्यालयको अस्तित्व यथावत रहने उनले तर्क गरे । नेता भण्डारीले विद्यार्थीलाई पूर्वीय दर्शन र संस्कृत शिक्षा नदिलाए नेपालीको पहिचान गुम्ने पनि बताए ।

यसै क्रममा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले सरकारले निजी विद्यालयको अस्तित्वलाई समाप्त गर्न खोजे आफूहरु आन्दोलित हुने चेतावनी दिए ।

कार्यक्रममा प्याब्सन गौरव सम्मान पूर्व अध्यक्ष उमेश श्रेष्ठ र हरिहर शास्त्री पुरस्कार उपप्राध्यापक देवीप्रसाद घिमिरेलाई तथा प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार प्रकृति अधिकारी र ईश्वरराज ढकाललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न १४ उत्कृष्ट जिल्ला शाखालाई पुरस्कृत गरियो । महाधिवेशनमा सहभागी ७२ जिल्लाबाट कूल २४३८ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।

नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहबीच प्रतिस्पर्धा हुँदैछ । मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली आज साँझ ६ बजे प्रकाशन हुने र बुधबार विद्युतीय प्रक्रियाबाट मतदान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्