काठमाडौं, २८ फागुन । रुपन्देही, कैलाली, सल्यान, नुवाकोट र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका–८ बर्मेली टोलस्थित भित्री सडकमा ना.५ ख ६२४९ नम्बरको ट्रकले लु.२७ प ७१२४ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–७ सेमरा बजार बस्ने ४५ वर्षीय लालबहादुर गुरुङको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको चुरे गाउँपालिका ३ स्थित सडकमा ना.४ ख ५०७४ नम्बरको ट्रकले से.३ प ६७९१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार घोंडाघोंडी नगरपालिका–६ बस्ने २५ वर्षीय अर्जुन नेपालीको सेती अंचल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक घोंडाघोंडी नगरपालिका–६ बस्ने २८ वर्षीय सुरेश नेपालीको सेती अंचल अस्पताल धनगढीमा उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सल्यानको शारदा नगरपालिका–१ शान्तिनगरमा श्रीनगरबाट लान्ति बजारतर्फ जाँदै गरेको रा.१ त ११५१ नम्बरको ट्याक्टर सोमबार राति अनियन्त्रित भई सडक देखी अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानी बस्ने २३ वर्षीय कृष्ण डाँगी र ट्याक्टरमा सवार सोही नगरपालिका–१ चैबाङ जिउला बस्ने १३ वर्षीय अमर बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी नुवाकोटको बिदुर नगरपालिका–५ च्वाँडी भन्ने स्थानमा देवीघाटबाट बिदुरतर्फ जाँदै गरेको बा.६३ प ५६३ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बिदुर नगरपालिका–९ लामाटार बस्ने १७ वर्षीय बिनोद थापाको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१० सातबिसे बस्ने १५ वर्षीय निमेश थापा मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ ऐलानीस्थित भित्री सडकमा स.४ प ३९६९ नम्बरको मोटरसाइकलको ठक्ककरबाट पैदलयात्री सोही स्थान बस्ने ७० वर्षीय रामबृक्ष ठाकुरको सोमबार राति मृत्यु भएको छ। उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि स्थानिय अस्पताल हुँदै जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाको मिथिला नगरपालिका–३ स्थित सडकमा ना.५ ख ३२६ नम्बरको बसले को.२३ प १५१५ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भोजपुर बोया बस्ने २५ वर्षीय होमनाथ ताम्राकारको उपचारको लागि जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भोजपुर घर भएका २२ वर्षीय विनोद राईको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।