‘खेलकुदले देशकाे गाैरव बढाउँछ’ : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

विराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको आज उद्घाटन गर्दै उनले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाएको बताए ।

अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको बताए । राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका रहेको बताउँदै अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिएका छन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको बताए । उनले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अघि बढ्ने दृढता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी भएको बताए ।

आयोजक सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरिरहेको बताए ।

आजको उद्घाटन खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध तीन गोलले पराजित ग¥यो । भोलिको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्