‘राजनीति सफा गरौं, देश बचाऔं’ : नारायणकाजी श्रेष्ठ

Narayankaji shrestha
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विखण्डनवादका विरुद्ध सबै गम्भीर बन्नुपर्ने बताएका छन् ।

मधेश छुट्टै देश हो भनेर नारा लगाउने मधेश गठबन्धनसँग सरकारले फागुन २४ मा ११ बुँदे सम्झौता गरेपछि सबैतिर सरकारले बिखण्डनवादलाई पश्रय दिइरहेको भन्दै सरकारको आलोचना भएको बेला उनले पनि घुमाएर सरकारले गरेको सहमतिमाथि प्रश्न उठाएका हुन् ।

सहमति लगत्तै मधेस पुगेका गठबन्धनका नेता सहभागी कार्यक्रममै मधेश छुट्टै देश भएको नारा लागेपछि प्रवक्ता श्रेष्ठले बिखण्डनवादलाई वैधानिकता दिने भन्ने प्रश्न उठ्न नपाउँदै सरकारलाई उचित कदम चाल्न आग्रह गरेका हुन् ।

आइतबार सीके राउत नेतृत्वको गठबन्धनले जनकपुरमा राउतको स्वागतमा निकालेको र्‍यालीमा मधेश छुट्टै देश हुनुपर्ने नारा लागेको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सार्वभौम र अखण्डताका विरुद्ध सार्वजनिक रुपमै विखण्डनको नारा जुलुस किन भइरहेको छ भन्ने प्रश्न समेत उठाएका छन् ।

उनले लेखेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो । बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई वैधानिकता दिने भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ । गम्भीर बनौं ।’

यसैगरी उनले अर्को पनि ट्वीट गर्दै नेपालको राजनीति शक्ति, पद, प्रतिष्ठा र पैसाका पछाडि दौडिएको उल्लेख गरेका छन् । देश, जनता र परिवर्तनका लागि हुनुपर्ने राजनीति पैसा, पद, प्रतिष्ठाका लागि भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

नेकपालाई समृद्ध नेपाल बनाउने अवसर प्राप्त भएको भन्दै उनले यसको सही सदुपयोग गर्नुपर्ने बताएका छन् । उनले सरकारले गठबन्धनसँग गरेको सम्झौताका बारेमा गम्भीर आत्मसमीक्षा गर्न समेत आग्रह गरेका छन् ।

निहीत राजनीतिक स्वार्थका लागि देशमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले राजनीतिको फोहर सफा गरेर देश बनाउन र बचाउँन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मु्क्तिको निम्ति कि सत्ता–शक्ति, पद–प्रतिष्ठा, प्रचार र पैसा–सुविधाको निम्ति ? यतिवेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्व नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ? गम्भीर आत्मसमीक्षा गरौं । राजनीति सफा गरौं, देश बचाऔँ, देश बनाऔँ ।

सीके राउतसँग सरकारले गरेको सम्झौतालाई लिएर यतिखेर सत्ताको नेतृत्व गरिरहेको नेकपामा दुई धार देखिएका छन् । सम्झौताका विषयमा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल मौन बसे पनि भीम रावल, जनार्दन शर्मा लगायतका दोस्रो तहका नेता त्यसको विरोधमा देखिएका छन् । यस विषयमा मौन रहेका प्रवक्ता श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू सहमतिको विपक्षमा रहेको प्रष्ट पारेका छन् ।