‘विप्लवसँग वार्ता गरौं’ : कमल थापा

kamal thapa
लाेकपाटी न्यूज

पोखरा, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दमनको माध्यमबाट नभइ वार्ता र सहमतिको माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गर्दै गरेका छन् । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा पोखरामा मिडिया नेपालले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले दमनको माध्यमबाट समाधान ननिस्कने भन्दै विप्लवसँग वार्ता गर्न आह्वान गरेका छन् ।

उनले भने, ‘हिजो जनयुद्धको अनुभवलाई दृष्टिगत गर्दै विप्लव नेतृत्वको नेकपालाई पनि दमनको माध्यमबाट होइन, वार्ता र सहमतिको आधारमा राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनु उपयुक्त हुन्छ ।’

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सरकारले पार्टीलाई हो वा पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाएको हो भन्ने बारेमा स्पष्ट पार्नुपर्ने बताए । संविधानले पार्टीहरुलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, ‘पार्टीलाई प्रतिबन्ध लगाउन नपाउने संविधानमा प्रष्ट उल्लेख भएकाले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको हो वा नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाएको हो त्यो स्पष्ट पार्नुपर्छ ।’

उनले विप्लव नेतृत्वको नेकपा र विखण्डनकारी सिके राउतलाई सँगै राखेर तुलना गर्न नहुने बताए । उनले सिके राउत राष्ट्र विखण्डनको नारा लिएर हिंडिरहेको बताउँदै विखण्डनकारी समूह गैरसंवैधानिक मात्र नभई राष्ट्रबिरुद्धको कार्य पनि भएको बताए । तर विप्लव नेतृत्वको नेकपा राज्य व्यवस्था विरुद्ध विद्रोहमा भएकाले यी दुई वटा समूहलाई सँगै राख्न नहुने उनको भनाइ थियो ।

यद्यपि उनले दुबै काम असंवैधानिक भएकोे बताए । उनले सिके राउतसँग सम्झौता विवादास्पद र रहस्यपूर्ण रहेको टिप्पणी गर्दै सरकारसँग सम्झौता गरे पनि सिके राउतले स्वतन्त्र मधेश वा विखण्डनको मुद्धा नत्यागेकाले सम्झौतामाथि आशंका बढेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्