काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र कुनै पनि छलफल नगरी मनखुसी गरिएका निर्णय ठिक नहुने बताएका छन् । उनले भने, ‘पार्टीभित्र यो विषयमा छलफल भएको छैन । यस्तो चलन ठिक होइन ।’
मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्तो विषय राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै नेपालले यस्ता विषयमा बैठक बोलाएर गम्भीर छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखियो । राम्रो तयारी गरेर छलफल गरेर कदम चाल्नुपर्नेमा अपरिपक्व कदम गरेको देखियो ।’