‘स्वतन्त्र मधेशकाे मुद्दा छाेडेका छैनौं’

मधेश01
लाेकपाटी न्यूज

बुटवल, २९ फागुन । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग सम्झौता नभएको बताएको छ ।

गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र जनमत संग्रहबारे कुनै सहमति नभएको बताएको भोलिपल्टै स्वतन्त्र मधेश गठबन्धनको रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै सरकारसँग सहमति भएपनि आफ्नो बटमलाईन स्वतन्त्र मधेशको मुद्दा नबिर्सिएको बताएको हो ।

गठबन्धनका रुपन्देही संयोजक भूपेन्द्र यादवले शान्तिपूर्ण र संसदीय प्रणालीबाटै स्वराज आन्दोलन अघि बढाउने बताए । उनले भने, ‘हाम्रो जुन स्वतन्त्र मधेशको बटमलाइन छ, त्यसलाई बिर्सिएका छैनौँ, सरकारसँग पनि यसबारे कुनै सम्झौता भएको छैन । अब जनताको म्यान्डेट लिएर त्यही रोडम्यापअनुसार संसदीय प्रणालीबाट प्रक्रियागत रुपमा अगाडि बढ्छौं ।’

उनले अन्तराष्ट्रिय स्तरमा दर्ता गरिएका मधेशसम्बन्धी मुद्दाको विषयमा सरकारसँग कुनै सहमति नभएको भन्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटो समेत खुल्ला गरेको बताए ।

उनले रुपन्देही जिल्लामा सरकारले प्रक्रियागत र शान्तिपूर्ण रुपमा स्वराज आन्दोलन अगाडि बढाउन सरकारले कुनै हस्तक्षेप नगर्ने सहमति भएको बताए । गठबन्धन रुपन्देहीले सरकारसँग भएको एघार बुँदे सहमतिले गठबन्धनलाई एघार बुँदे नै फाइदा भएको निष्कर्ष समेत निकालेको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा युएनपिओपछि युएनमा आफूहरुको सजिलै सहकार्य र प्रतिनिधित्व गरिने बाटो खुलेको, स्वराज आन्दोलनको रोडम्यापअनुसार संसदीय प्रणालीबाट मधेश स्वराज घोषणा गर्न सकिने, अन्तराष्ट्रिय स्तरमा मधेश गठबन्धन शान्तिपूर्ण शक्तिको रुपमा मजबुत भएको, गठबन्धनको लोकतान्त्रिक शक्तिलाई सरकारले स्वीकार गरेको हुनाले जनअभिमतबाट समृद्ध मधेश निर्माण हुनेजस्ता विषयमा सहज भएको उल्लेख छ ।