काठमाडौं, २९ फागुन । आफ्नै श्रीमती ६५ वर्षीया रामकुमारी राईको हत्या गरको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका–५ भिरगाउँ बस्ने ७० वर्षीय ध्यानकुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका कारण ध्यानकुमारले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रामकुमारीको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै ललितपुर महानगरपालिका–१० युएनपार्कस्थित सडकमा चेकिङ गर्ने क्रममा नगद २ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.१६ च ८०६८ नम्बरको टाटा मोबायल गाडीका चालक काठमाडौं शंखमुल बस्ने सर्लाहीका ३२ वर्षीय शैलेश राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पिक आवरमा सामान ल्याउन नपाइने भनी चिट काट्न खोज्दा शैलेशले उक्त नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।