जनमत संग्रहमा सरकारकाे नैतिक समर्थन हाे ? : प्रकाशमान सिंह

prakashman sinha
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस् युनियनको नवौं क्षेत्रीय अधिवेशनको राजधानीमा उद्घाटन गर्दै नेता सिंहले विप्वल नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाए।

राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए। ‘राष्ट्रिय सुरक्षामा आएको समस्या समाधान गर्न अरू दलसँग पनि छलफल गर्नुपर्ने थियो’, उनले भने, ‘तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन्। दुईतिहाई बहुमत छ भन्दैमा अरू दललाई चासो नदिने ?’

नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताए। उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताएका छन्। ‘प्रतिवम्ध समाधान होइन, सरकारले वार्ताको पहल थाल्नुपर्छ’ सिंहको तर्क थियो।

सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए। उनले सरकारले सीके राउतले जनमत संग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए।

‘सीके राउत र सरकारले सम्झौताबारे दुवैले आ–आफ्नै व्याख्या गरिरहेका छन्, सीके राउत जनमत संग्रहको विषयमा बोल्दा सरकार किन चुप छ ?’ नेता सिंहले सरकार जनताले दिएको म्याण्डेटको खिलापमा गएको आरोप लगाए।

उनले नेपाल टेलिकम अझ प्रभावकारी बनाउन कर्मचारी र ब्यवस्थापनलाई मिलेर अघि बढ्न समेत आग्रह गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरे। अधिवेशन शुक्रबार र शनिबार गरी २ दिन चल्नेछ।