अहिले भीडन्त गर्ने बेला होइन : गोपाल किराँती

gopal-kirati maoist
लाेकपाटी न्यूज

काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ। गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष गोपाल किरातीले यस्तो जानकारी दिएका हुन्।

किरातीले इण्डो–प्यासिफिक कमाण्डमा संलग्नता र सरकार–सिके राउत सहमतिको विखण्डनकारी प्रावधानसमेत तत्काल खारेज गर्न पनि महाधिवेशनले माग गरेको सुनाए। महाधिवेशनले समाजवादी राष्ट्रिय एकीकरण र वर्गसंर्घषमा महान जनविद्रोहको रणनीति लिएको पनि उनले स्पष्ट पारे ।

हालै सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उनले माग गरे । उनले भने, ‘विप्लवजीहरुले उठाउनुभएका मागहरु राजनीतिक हुन्। त्यसैले उहाँहरु पनि वार्ता तथा सहमतिमा आउनुपर्छ।’

उनले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको उल्लेख गर्दै भने, ‘सिके राउतसँग सहमति भएकाले विप्लवविरुद्ध प्रतिबन्ध लगाइएको हो।’ आफूले आफ्ना पार्टीका प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग आज मात्रै पनि विप्लवविरुद्ध लगाइएको प्रतिबन्ध र विप्लवले हिजो गरेको नेपाल बन्दको बारेमा जिज्ञासा राखेको र अधिकांश नेता तथा कार्यकर्ताहरुले विप्लवलाई ठिक भनेको पनि किराँतीले सुनाए।

उनले भने, ‘विप्लवलाई व्यापक समर्थन छ। तर, भौतिक रुपमा भीडन्त गर्न तयार छैनन्।’ उनले विप्लव नेतृत्वको नेकपाविरुद्ध ओली–प्रचण्ड सरकारको फासीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवा गरेका छन्। उनले अघि थपे, ‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरी वार्ताद्धारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’

विप्लव समूहलाई आफूहरुले भाइचारा मानेको भएपनि सांगठनिक र राजनीतिक रुपमा फरक–फरक ठाउँमा भएको उनको तर्क छ। उनले भने, ‘हामी एक ठाउँमा छैनौं।’ उनले विप्लव समूहलाई पनि वार्ता तथा सहमतिमा आउनका लागि आफूहरुले आग्रह गरिरहेको पनि सुनाए। उनले भने, ‘अहिले भीडन्त गरेर हुँदैन। प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्छ । हामी सबै माओवाद विचार मान्नेहरु जुटौं भन्ने हाम्रो चाहना हो, हामी त्यहीअनुसार प्रयत्न गरिराखेका छौं।’

अध्यक्ष किरातीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच नाममा मात्रै फरक रहेको र अरु कुनै पनि कुरामा भिन्नता नरहेको आरोप लगाए। उनले भने, ‘कांग्रेस र संसदवादी नेकपाबीच नाममा अन्तरबाहेक वस्तुगत चरित्रमा किञ्चित भिन्नता छैन। तर, प्रतिपक्षमा हुनुको कारण कांग्रेसलाई उदार पुँजीवादी तथा सत्तापक्षमा रहेको नेकपालाई अनुदार पूँजीवादी भनेर महाधिवेशनबाट विश्लेषण गरिएको छ।’

फरक प्रसङ्गमा उनले रेशम चौधरीलाई आजीवन जन्मकैद गरेको निर्णयको बारेमा टिप्पणी गर्दै भने, ‘रेशम चौधरी उम्मेद्धवार हुने बेलामा वैद्यानिकता हुने अनि उनले चुनाव जितेपछि सरकारले उनीविरुद्ध जुन प्रकारको रवैया देखाएको छ, त्यो न्यायोचित छैन।’