विप्लव समूहमाथि तीन तरिकाले कारबाही गर्न निर्देशन

Netra-Bikram-ChandBiplav
लाेकपाटी न्यूज

रोल्पा, ३ चैत । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका गतिविधि नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । सुरक्षा निकायकाअनुसार विप्लवका हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । त्यसैअनुरुप केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ ।

विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताइएको छ ।

चन्द समूहका गतिविधि रोक्न र सतर्कता अपनाउन निर्देशन दिइएको हो । चन्द समूहका कार्यकर्ताले तीन साताअघि रोल्पामा टेलिफोनका दुई टावरमा बम हानेका थिए ।

स्थानीय तहका गाडीहरूमा आगजनी गरेका थिए । सदरमुकामका साथै ग्रामीण क्षेत्रका आधा दर्जन स्थानमा विस्फोटक पदार्थ भेटिएको थियो । बम राखेर तर्साउन खोजेजस्तो देखिएकोले सुरक्षा संयन्त्रलाई सचेत बनाएको प्रहरी स्रोतले जनाएको छ ।

विस्फोट र केही कार्यकर्ताले हतियार देखाएको सूचनापछि रोल्पाका सबै प्रहरी इकाईमा सुरक्षाकर्मी थपिएको उनले बताए । जिल्ला सुरक्षा समितिले विस्फोट र आगजनीका घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ । हिंसात्मक गतिविधि रोक्न सबै सुरक्षा संयन्त्रबीच समन्वय गरेर परिचालन गरिएको समितिले जनाएको छ ।

समितिकाअनुसार अहिले सयभन्दा बढी प्रहरी थपिएको छ । संघीय र प्रदेश सुरक्षा संयन्त्रले थप प्रहरी बल पठाएका हुन् । अहिले जिल्लामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् । सबै सुरक्षाकर्मीको संख्या २ हजार बढी रहेको बताइएको छ । सेनालाई लामो दूरीको निगरानी गर्न स्वीकृति दिइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्