पश्चिम नवलपरासी, ३ चैत । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमूख नन्दलाल पौडेलको कार्यकालमा जिल्लाका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र प्रोत्साहनमा महत्वपूर्ण कार्य भएको र यस कार्यले आफूहरुलाई उत्साह र उर्जा थपेको उद्यमीहरुले बताएका छन् ।
कर्मचारी समायोजनको शिलशिलामा पश्चिम नवलपरासीबाट सरुवा भई गण्डकी प्रदेशमा जान लागेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलको बिदाइमा आज आयोजित बिदाइ तथा शुभकामना कार्यक्रममा बोल्ने उद्यमीहरुले उक्त कुरा बताएका हुन् ।
ग्यालेक्सी सीप प्रशिक्षण केन्द्र परासीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण केन्द्रका प्रमुख एवं घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले पौडेल कार्यालय प्रमुख भएर आएपछि जिल्लामा लघु तथा घरेलु उद्यमीहरुलाई कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवा सुविधा सहज प्राप्त हुनुका साथै सवै उद्यमीलाई समन्वय,सहकार्य र सहयोग गरी प्रमुख पौडेलले हौसला बढाउने काम गरेको बताएका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले कार्यालय प्रमुख पौडेल सवै नागरिकको प्रिय बनेर कार्यालयको सेवाप्रवाह प्रभावकारी बनाउन अब्बल सावित हुनु भएको भन्दै मिडिया क्षेत्रले उहाँको कार्यको उच्च सम्मान गरेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलले आफू जिल्लामा साढे चार वर्ष रहँदा सवै क्षेत्रका सहयोग, सहकार्य, समन्वय, माया र सम्मान प्राप्त गरेको भन्दै सवैमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा कार्यालयबाट उद्यमी तथा सेवाग्राहीका लागि प्रदान गरिने सेवा र अवसरको बारेमा सञ्चारमाध्यमबाट जनस्तरमा पुराईदिन पनि आग्रह गरे ।
सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालय पूर्वी नवलपरासीका प्रमुख नारायण गौतम, नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन पौडेल, पर्यटन पत्रकार महासंघका जिल्ला वरिष्ठ उपाध्यक्ष रमेश भुसाल, जिल्ला सदस्य गौरीशंकर जयसवाल लगायतले उहाँको कार्यकालको समिक्षा तथा शुभकामना व्यक्त गरेका थिए ।