चितवन, ४ चैत्र। स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारोमुक्त (मर्करी) महानगर हुने भएको छ। स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो।
विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि परेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले भरतपुर पारोमुक्त घोषणा हुन मात्रै बाँकी रहेको जनाएको छ। संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले मानव स्वास्थ्यका लागि पारो घातक रसायन भएको बुझेसँगै अस्पतालमा यसको प्रयोग बन्द भएको बताए।
यसै साता औपचारिक कार्यक्रम गरी भरतपुरलाई पारोमुक्त स्वस्थ शहर घोषणा गर्न लागिएको छ। पारोका कारण स्नायु प्रणाली, प्रजनन, पाचन, श्वासप्रश्वास, मुटु, मिर्गौलामा असर गर्ने उनले बताए। यससँगै अनिद्रा लाग्ने र यसको प्रभाव पुस्तौँसम्म पर्ने साहले बताए।
उनका अनुसार जिल्लाका अस्पतालमा पारोयुक्त थर्मोमिटर हटेर डिजिटल थर्मोमिटर, पारोयुक्त रक्तचाप नाप्ने ‘बिपी सेट’ हटेर ‘एनोरोयड बिपी सेट’ प्रयोगमा आएका छन्। दाँतको उपचारमा प्रयोग भएको पारो अमल्गमको सट्टामा पारोरहित कम्पोजिट, ग्लास, आइनोभर वा कम्पोभर प्रयोगमा आएको उनले बताए।
संस्था र नेपाल डेण्टल एशोसिएशनबीच पारोयुक्त उपकरण र सामग्री प्रयोग नगर्ने सहमति भई सोहीअनुसार देशभरका दन्त अस्पतालमा परिपत्रसमेत गरिसकिएको छ। अस्पतालबाहेक खेलौना, रङगरोगन, ब्याट्री, बल्बलगायतमा ठूलो मात्रामा पारो हुने गर्दछ ।
साहले सन् १९५७ मा जापानको मिनामातामा रसायन उत्पादन गर्ने उद्योगबाट निस्किएको पारोयुक्त फोहोर पानी समुद्रमा पठाउँदा माछा र सामुद्रिक जीवहरु निकै प्रभावित भएको बताए। सोही समुद्रको माछा खाएका छ हजार मानिसमध्ये त्यतिबेला नै तीन हजारको मृत्यु भएको भन्दै अन्यको सन्तानमा समेत समस्या देखिएको उदाहरण साहले दिए।
नेपालमा पनि संस्थाले गरेको सर्वेक्षणमा सहभागी सबैमा पारोको प्रभाव देखिएको छ। सो संस्थाले पारोले प्रभाव पार्ने मूर्तिमा सुनको जलप लगाउने ३०, बेगनास ताल र फेवा तालमा माछा मार्ने ४० र देशभरका ५० जना दन्त चिकित्सकमा पारोको प्रभाव परीक्षण गरेको थियो।