नेपालका केहि जिल्लामा देखा पर्‍यो बर्ड फ्लुको सङ्क्रमण

Bird flue
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत । नेपालमा पछिल्लो समय काठमाण्डौं, मकवानपुर, चितवनलगायतका केहि जिल्लाका पोल्ट्री फर्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ ।

केहि जिल्लाका पोल्ट्री फर्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएको पशुसेवा विभागले पुष्टि गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको सो विभागकी उपमहानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले सङ्क्रमण देखिएका पोल्ट्री फर्मका कुखुरासहित पशुपक्षीजन्य उत्पादन नष्ट पारी निःसङ्क्रमण गर्ने काम गरिसकिएको बताइन् ।

व्यावसायिक रूपमा पाल्ने गरिएको कुखुरा र हाँस लगायतबाट मात्रै नभई रैथाने एवम् बसाइँसराइ गर्ने चराहरूबाट पनि बर्ड फ्लुको भाइरस सर्ने गरेको चिकित्सकहरू बताउँछन्। नेपालमा बसाइँसराइ गर्ने चराहरूबाट बर्ड फ्लुको भाइरस सरेको कुनै औपचारिक तथ्याङ्क नभएपनि प्रभावित क्षेत्रबाट बसाइँसराइ गरी आउने चराबाट यो रोग सजिलै सर्ने नेपाल भेटनरी काउन्सिलका सदस्य डा. शिशिर भण्डारी बताउँछन् ।

सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भाइरस निकै अस्थिर खालको हुने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार बर्ड फ्लुको सङ्क्रमण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको सङ्क्रमण नियन्त्रण तथा रोकथाम नै हो ।

विभागकी उपमहानिर्देशक काफ्लले यसको भाइरसले स्वरूप परिवर्तन गर्ने धेरै अवसर नपाओस् भनेरै जहाँ देखियो त्यही नष्ट गर्ने अभ्यास भएको बताइन् । खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्