काठमाडौं, ६ चैत । प्रहरीले होली पर्वको अवसरमा विभिन्न स्थानहरुबाट छुट्टा छुट्टै आरोपमा १ सय ३ जनालाई पक्राउ गरेको छ ।
उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबाञ्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरका ३५ पुरूष र भक्तपुरका ४ पुरूष रहेका छन् ।
यस्तै काठमाडौं, चन्द्रागिरी नगरपालिका २ देउराली डाँडाबाट करिब २ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित ३६ वर्षीय शेरबहादुर तामाङ पक्राउ परेका छन् । सोहि नगरपालिका २ नागढुङगाबाट करिब १.३८ ग्राम अवैध ब्राउन सुगरसहित मोरङ उर्लाबारी नगरपालिका २ घर भएका ३२ वर्षीय नविन कुमार विश्वनकर्मालाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना.६ ख ४५०० नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले विश्वबकर्मालाई उक्त लागूऔषध सहित फेला परेको हो ।
यस्तै काठमाडौं महानगरपालिका १६ बालाजुबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं माछापोखरी बस्ने २३ वर्षीय युवराज आचार्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई ३ बुक तास र नगद ३६ हजार ९ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका ५ कटुञ्जे बस्ने नर्बु लामासहित ६ जना पक्राउ परेका छन् । उनीहरु जुवातास खेलिरहेको अवस्थामा १० बुक तास र नगद २ लाख ८६ हजार ३ सय १० रुपैयाँसहित पक्राउ परेका हुन् ।
यस्तै रौतहट, गढिमाइ नगरपालिका धनहारी बस्ने सुरेश यादवको घरमा जुवा खेलिरहेको अवस्थामा कटहरीया नगरपालिका ५ का ४५ वर्षीय हरिन्द्र राउतसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगद ४० हजार १ सय २५ रुपैयाँ, जुवा खेलमा प्रयोग गरिने ७ थान लेमिनेसन गरिएको कार्ड , ७ थान कौडी र ३ बुक ताससहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका १८ एक्लेडाँडा बस्ने रबिन शाही भन्ने मनिराज शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । शाहीले ती किशोरीलाई धाकधम्की दिएर बोलाई खेतमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी प्रभाग बुङमतीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले शाहीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।