जनताको जलविद्युत् आयोजनाकाे पहिलाे शेयर प्रधानमन्त्रीले खरिद गर्ने

jalbidhdhut
लाेकपाटी न्यूज

काठमाडाैं, ७ चैत । बिहीबार अर्थात आजदेखि जनताको जलविद्युत् आयोजना कार्यक्रम कार्यान्वयनमा आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शेयरको लागि पहिलो आवेदन दिएपछि सर्वसाधारण नागरिकका लागि शेयर आवेदन खुला हुनेछ । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्फत् अनलाइन आवेदन भर्ने कार्यक्रम तय गरेका छन् । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलो पटक माथिल्लो त्रिशूली थ्रि बीको शेयर आह्वान भएको हो । यही चैत १ गते सार्वजनिक सूचना गरी माथिल्लो त्रिशूली जलविद्युत् कम्पनीले प्रतिकित्ता एकसय रुपियाँदरका ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि बिहीबारदेखि आवेदन लिने तय गरेको थियो ।

नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने लक्ष्य सरकारको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जनताका सानो पुँजी पनि सुरक्षित रुपमा प्रतिफल आउनेगरी लगानी होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । मन्त्रालयले कार्यक्रमका लागि छनोट गरी आवश्यक अध्ययन सबै पूरा गरेका, वित्तीय व्यवस्थापन र विद्युत् खरिद सम्झौता भइसकेका आयोजनाहरुले मात्र सेयर आह्वान गर्न पाउने व्यवस्था गरेको छ ।

कार्यविधि अनुसार कार्यक्रम अन्तर्गतका आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था छ । त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ३९ प्रतिशत आमसर्वसाधारणका लागि छुट्याइने छ ।

आवेदन र पूर्ण भुक्तानीको बीचको अवधिमा लगानीकर्ताले बुझाएको १० प्रतिशत रकमको आठ प्रतिशतसम्म व्याज पाउन सक्ने व्यवस्था छ । आवेदकले हाललाई १० प्रतिशतमात्र रकम तिरेपुग्ने भएकाले यी शेयरवापत कम्पनीले तीन करोड ५९ लाख ३८ हजार पाँचसय रुपियाँ प्राप्त गर्नेछ । चैत ७ गते खुल्ने आवेदन छिटोमा चैत ११ गते र ढिलोमा २०७६ वैशाख ६ गते बन्दहुने कम्पनीले जनाएको छ ।

जनतालाई नै विद्युत् आयोजनाको मालिक बनाएर सरकारले धेरै भन्दा धेरै आयोजना निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्