विराटनगर, ८ चैत । नेपाली महिला फुटबल टोली भारतसँग पराजित बनेको छ । नेपाल भारतसँग ३-१ गोलले पराजित साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुकेको हो ।
घरेलु मैदानमा उपाधि हासिल गर्ने ‘प्रशस्त सम्भावना’का बावजूद नेपालका लागि फेरि पनि भारत बाधक बन्यो । लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामा मात्र सीमित हुन पुग्यो । शहीद रंगशालामा भएको भएको फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोलले पराजित भएको हो । नेपाल यसअघि पहिलो, दोस्रो र तेस्रो संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि भारतसँग पराजय भोगेर उपाधि चुम्नबाट चुकेको थियो ।
खेलको शुरुआतमा आक्रामक रुपमा मैदानमा उत्रिए पनि नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको २६ औं मिनेटमा डालिमा छिब्बरले गोल गर्दै भारतका लागि अग्रता दिलाए पनि त्यसको केही मिनेटमै नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
हाफसम्म १-१ गोल बराबरी खेलेको नेपाल दोस्रो हाफमा भने दुई खान पुग्यो । दोस्रो हाफको ६३ औं गोल गर्दै भारतले २-१ को अग्रता बनायो । भारतका लागि दोस्रो गोल ग्रेस दाङ्मेइले गरेकि थिइन् ।हजारौं दर्शकले भरिएको सहिद रंगशालामा भारत लगातार आक्रामक बन्दै गएपछि नेपालको रक्षापङ्ती खुकुलो देखिएको थियो । त्यही अवसरको सदुपयोग गर्दै अञ्जु तामाङले ७६ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् ।
शुक्रबारको जीतसँगै भारत आफूलाई दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च टोलीका रुपमा स्थापित गर्न सफल भएको छ । अघिल्लो महिना भारतमा भएको हिरो गोल्डकप फुटबलमा भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । साफमा भने भारत नेपालमाथि हावी हुँदै पाँचौ पटक उपाधि उचाल्न सफल भएको छ ।