कहिलेकाहीँ कुनै अनुहार देखेजस्तो लागेको हुन सक्छ। तर, हामीले त्यो अनुहारको नाम बिर्सिन्छौँ। हामीले कहिलेकाहीँ भनेका हुन्छौँ, ‘मनमा आयो, मुखमा आएन।’ खासमा यो हाम्रो स्मरण शक्ति कमजोर भएकाले हो।
भनिन्छ, उमेर बढ्दै जाँदा दिमागको क्षमता घट्दै जान्छ। र, कतिपय कुरा हामीलाई याद पनि आउँदैन। तर, उमेर बढे पनि हामीले हाम्रो स्मरण शक्तिलाई उस्तै ताजा बनाउन सक्छौं। त्यसका लागि तलका आठ तरिका अपनाउन सकिन्छ।
१. व्यायामः व्यायाम गर्नुले हाम्रो मस्तिष्कलाई स्वास्थ्य राख्छ। व्यायाम गर्नाले दिमागको क्षमता पनि बढ्छ। व्यायाम गर्दा दिमागका कोशिकाबीच आपसी सम्पर्क झन् राम्रो हुँदै जान्छ। नयाँ कोशिकाको निर्माण पनि हुन्छ। कार्डियो एक्सरसाइज गर्नाले हामीले झन् धेरै अक्सिजन लिन्छौँ।
अझ यस्तो व्यायाम बाहिर गर्ने हो भने सूर्यको प्रकाशमा हामीलाई भिटामिन डी पनि मिल्छ। यसले हामीमा परिवर्तन ल्याउँछ। अरु कोहीलाई कुनै आइडिया बाँड्दै गर्दा पनि हामीलाई यस्तो महसुस हुन सक्छ।
२. गतिसहित स्मरणः यो टेक्निक विशेषगरि कलाकारहरु प्रयोग गर्छन्। कुनै पनि चलिचत्रमा गीतसहित उनीहरु आफूले बोल्नुपर्ने डायलग सम्झन्छन्। यदि कुनै पनि कुराको गतिसहित केही कुरा याद गर्ने हो भने त्यो सम्झनामा रहने सम्भावना अत्यन्त बढी हुन्छ। यदि तपाईंले कुनै प्रिजेन्टेसन दिनुपर्ने छ भने या भाषण गर्नुछ भने त्यो कुरालाई यसो हिँड्दै वा नाँच्दै सम्झने प्रयास गर्नुभयो भने त्यसले तपाईंको सम्झना शक्तिमा व्यापक परिवर्तन ल्याइहाल्छ।
३. सन्तुलित भोजनः हामीले खाने खानामा पाइने सुगर लेभलको २० प्रतिशत भाग सिधै दिमागमा जान्छ। त्यसैले हामीले कति सुगर खान्छौँ भन्ने कुराले हाम्रो दिमागलाई असर पार्छ। यदि हाम्रो सुगर लेभल नियन्त्रित छैन भने त्यसले हाम्रो दिमागलाई सिधा असर पार्छ। अनि हाम्रो दिमाग अन्योलमा पर्छ। त्यसैले हाम्रो भोजन सन्तुलित हुनुपर्छ। हाम्रो दिमागका कोशिका फ्याटबाट बनेका हुन्छन्। त्यसैले पनि खानामा फ्याटलाई पूर्ण रुपमा छोड्नु हुँदैन। बदाम, गेडागुडी, नासपाती, माछा हाम्रो दिमागका लागि निकै लाभदायक मानिन्छन्।
४. दिमागलाई आरामः तनाव दिमागका लागि अत्यन्त राम्रो हो किनकि आपत्कालीन अवस्थामा पनि दिमागले राम्रोसँग काम गर्न पाउँछ। तर, निकै धेरै तनाव लामो समयसम्म हुँदा दिमागमा नकारात्मक असर पर्छ। त्यसैले समयसमयमा आफ्ना नियमित तनाव बिर्सनुहोस् र दिमागलाई आराम दिनुहोस्।
५. नयाँ चुनौतिको खोजीः दिमागलाई तन्दुरुस्त राख्नका लागि दिमागलाई नयाँ चुनौति दिइरहनुपर्छ। जब नयाँ चुनौति दिइन्छ, दिमागले अभ्यास गर्ने मौका पाउँछ र हामीले नयाँ कुरा सिक्न पाइन्छ। यसको अर्थ हो कुनै नयाँ भाषा सिकेर वा नयाँ कला सिकेर हामीले दिमागको क्षमता बढाउन सकिन्छ। नयाँ भाषा सिक्न वा अरु केही सिक्न मन छैन भने परिवारमा अनलाइन खेल खेलेर पनि दिमागको क्षमता बढाउन सिकन्छ।
६. संगीत श्रवणः संगीतले दिमागलाई अत्यन्त राम्रो प्रभाव पार्छ। मानौं दिमागका लागि अचुक औषधि हो संगीत। कुनै पनि गीत सुन्दै गर्दा वा कुनै साधन बजाउँदै गर्दा पूरै शरीर क्रियाशील हुने भएकाले पनि यस्तो असर देखिने हो। कैयौं ठाउँमा त संगीतलाई सम्झनाको थेरापीका रुपमा पनि प्रयोग गरिएको हुन्छ।
७. पढ्नुहोस् र सुत्नुहोस्ः यदि तपाईंले दैनिक रुपमा केही नयाँ पढ्नुभयो भने तपाईंको मस्तिष्कलाई राम्रो अभ्यास हुन्छ। यसले मस्तिष्कका दुई कोशिकालाई जोड्ने काम गर्छ। अनि केही पढेर सुत्दा यसले दुई कोशिकाको सम्पर्कलाई अझ बलियो बनाउँछ। त्यसैले यसरी पढेर सुत्दा पढेको कुरा लामो समयसम्म याद आइरहन्छ। त्यसैले निद्रा सम्झनाका लागि तथा दिमागका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले पनि सुत्नुभन्दा अगाडि फिल्म तथा भूतका कथा पढ्नुहुँदैन, सकारात्मक अनुभवसँग सुत्दा दिमागलाई निकै फाइदा पुग्छ।
८. बिहान यसरी उठ्नुस्ः यदि कोही पनि व्यक्ति पाँच घण्टाभन्दा कम सुत्यो भने त्यो व्यक्ति खासै चनाखो हुन सक्दैन। यही अवस्था दैनिक १० घण्टाभन्दा बढी सुत्दा पनि हुन सक्छ। यसका साथसाथै तपाईं कसरी उठ्नुहुन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ। सबैभन्दा राम्रो त के भने तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेको समयमा उठ्नुहोस्।
उठ्दा सूर्यको प्रकाश कोठामा पर्ने छ भने झन् राम्रो हुन्छ। यो उज्यालोले दिमागलाई अझ अभ्यास गर्ने बनाउँछ। घरमा सूर्यको प्रकाश आउँदैन भने लाइट सिस्टम भएको अलार्म किन्न पनि सकिन्छ।