काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयभित्र हतियार बुझाउन नेत्रविक्रम चन्द विप्लव समूहलाई आग्रह गरेका छन् । हतियार नबुझाए कसरी लिनुपर्छ भन्ने सरकारलाई जानकारी भएको उनको भनाइ छ ।
आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानूनअनुसार नियन्त्रण गर्न लागिएको बताए । उनले भने, ‘राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन ।’
यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको उनले बताए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’
कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानूनअनुसार नियन्त्रण गर्छ ।’