काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई जेल राखेर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताएका छन् ।
उनले विप्लव सहज रुपमा नआए जेलमा बसाएर भएपनि उनलाई राजनीतिको मूलधारमा ल्याइने बताएका हुन् । सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को संसदीय दलको वैठकलाई सम्बोधन गर्दै ओलीले विप्लव नेतृत्वको नेकपाप्रति संकेत गर्दै नेता मार्न पठाउनेहरुलाई छूट दिन नसकिने पनि बताए । उनले भने ‘फलाने नेता मार्न भनेर मानिसहरु पठाउनेलाई सहज रुपमा छूट दिन सकिदैन ।’
प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको समूहलाई राजनीतिक मुलधारमा ल्याउन कानूनी कारबाहीको बाटो अवलम्बन गर्ने पनि बताए । ‘सहज रुपमा आउनुहुन्छ भने आउनुहुन्छ, होइन भने जेलमा बसेर आउनुहुन्छ, ’ प्रधानमन्त्रीले भने, ‘जेलमा बसाएर भए पनि हामी मूलधारमा ल्याउछौं ।’