युएईमा डम्फू साँझ किन ?

damphu UAE
डम्फू हरायो भने बिस्तारै तामाङ समुदायको संस्कृति पनि बिस्तारै हराउँदै जान्छ। तामाङ संस्कृति हराउनु देशको एक मौलिक संस्कृतिमा चुनौति निम्तनु हो, देशको संस्कृति लोप हुँदा त्यसको अप्रत्यक्ष प्रभाव खस–आर्य लगायतका सबै समुदायमा पनि पर्दछ।
लाेकपाटी न्यूज

अनिस तामाङ

जमाना यति धेरै पैसामूखी भइसकेछ कि हामीले युएईमा पहिलोपटक ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने घोषणाको दिनदेखि नै यिनीहरू पैसा कमाउन लागे भनेर हाम्रै समुदायका केही बौद्धिक युवा जमातले पछाडि कुरा काट्दै हिडेको पाएँ। कहिलेकाहीँ आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदायका लागि केही गर्छु भन्ने अभिलासा बोकेर हिड्दा यस्ता कुरा सुन्नुपर्दा मन कटक्क हुनेरहेछ।

पहिलो, कुरा त हामी सामाजिक व्यक्तिको जमातले यो कार्यक्रम गर्न लागेको हुँदा कार्यक्रमबाट नाफा खान्छु भन्ने कुरा कल्पनाभन्दा टाढाको विषय हो। दोस्रो, कुरा यदि नाफा कमाउने सोंच भएको भए यत्रो ९/९ जना कलाकार ल्याएर कार्यक्रम गर्दैनथ्यौं। यो कार्यक्रम नाँच्न गाउनका लागि होइन। दुईचार घण्टा नाँच्नका लागि १२ घण्टा नसुती यति धेरै खटिरहन जरुरी थिएन। नाँच्न र गाउनका लागि युएईमा धेरै बार र रेष्टुरेण्टहरु छन्, जहाँ तपाईं नेपाली गीत संगीतदेखि विदेशी गीतहरुमा भरपुर मनोरञ्जन लिन सक्नुहुन्छ। म यहाँ हामीले युएईमा डम्फू साँझ कार्यक्रम किन र केका लागि गर्दैछौं भन्ने संक्षिप्त जानकारी गराउन चाहन्छु।

हामी युएईमा रहेका केही साथीहरू मिलेर ल्होछार कार्यक्रम सकिने बित्तिकै आफ्नो समुदायको अस्तित्व जोगाउने एउटा छुट्टै विशेष कार्यक्रम गरौँ भनेर छलफल चलिरहेको थियो। लगभग डम्फूको नामबाट एउटा कार्यक्रम राखौं भन्ने टुंगोमा पुगेपछि ल्होछार कार्यक्रमका लागि युएई पाल्नुभएका सेलो गायक सञ्जिव वाइबासँग पनि कार्यक्रममा कस्तो कलाकार ल्याउदा उपयुक्त होला भनेर सानो परामर्श गर्दा उहाँले पनि डम्फूको कार्यक्रम भएकाले डम्फूको गीत गाउने कलाकार उपयुक्त होला भन्ने सुझाव दिनुभएको थियो।

ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको केही दिनपछि तामाङ समाज युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ, भीम दोङ, प्रगतिशील कलाकार संघ युएईका अध्यक्ष नवीन दोङ, सेलो गायक डिबी मगर, प्रख्यात मोक्तान लगायतका केही युवा साथीहरूसँग डम्फू साँझ कार्यक्रमका लागि विशेष बैठक बसियो। उक्त बैठकमा युएईमा डम्फू साँझ नै किन त भन्ने विषयमा बृहत छलफल भएको थियो। अन्ततः डम्फू नेपालको पूरानो बाजा, पछिल्लो समय गीत संगीतदेखि चलनचल्तीमा समेत यसको कम प्रयोग भई लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि डम्फूकै नामबाट कार्यक्रम गर्ने निचोडमा पुग्यौं।

युएईमा पहिलो डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम घोषणासँगै हामीले कार्यक्रमको मिति स्थान र कलाकारहरु छनौट गर्‍यौं। कार्यक्रम आउँदो नेपाली नयाँ वर्षको वरिपरि पारेर वैशाख ६ गते अर्थात् अप्रिल १९ तारिख युएईको देरा दुबईस्थित कार्ल्टन टावरमा मनाउने टुंगो लगाइयो। त्यसपछि नेपालबाट सेलो गायिका इन्दिरा गोले गुरुङ, सेलो गायक विश्व दोङ, फूल कुमार बम्जन, चर्चित नायक अमिर दोङ, म्हेन्दो माया गायक सुमन घाले, नायिकाहरु सुनिता लुङ्बा, सुश्मा मोक्तान तामाङ र उद्घोषिका स्मारिका थिङलाई ल्याउने निर्णय भएको थियो।

डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रमको सबै कुरा टुंगोमा पुग्यो। छलफलका क्रममा केही साथीले विभिन्न सवालहरु उठाउनुभएको थियो। सकारात्मक सोचले उठाएको जस्तोसुकै सवालको पनि आयोजकले चित्तबुझ्दो जवाफ दिनुपर्छ। सवाल उठाउनु उहाँहरुको अधिकारको कुरा पनि हो। छलफल र बहसका माध्यमबाट नै हामी थप परिस्कृत पनि हुँदै जान्छौं। म यहाँ साथीहरुले उठाउनुभएका केही सवालबारे प्रष्ट पार्न चाहन्छु।

युएईमा डम्फू साँझ कार्यक्रम नै किन ?

यो सवाल विशेषगरि गैरतामाङ समुदायका साथीहरूले उठाउनुभएको छ। हाम्रो नेपालका पूराना बाजाहरुमध्ये डम्फू पनि एक पूरानो बाजा हो। विशेषतः तामाङ समुदायमा प्रयोग हुने पहिचानयुक्त यो बाजालाई तामाङ भाषामा ठाउँ विशेषअनुसार डम्फा, डम्बा वा डम्बु भन्ने गरिन्छ। डम्फू घोरलको छाला, कोइराला काठको घेरा, बाँसको ३२ किला, समात्ने स्थानमा चोयाको ‘टेपटेप’, त्यसको ठीकमाथि डाँफे चराको प्रतीक बनाइएको हुन्छ। डम्फूको निर्माण पेङदोर्जेले गरेका हुन्।

डम्फूको घेराले घामलाई सङ्केत गर्छ। त्यस्तैगरि ३२ किलाले मानिसको गुणका साथ चराले डाँफेलाई प्रतीकात्मक रूपमा जनाएको हुन्छ। तामाङ संस्कार संस्कृति मौखिक छन्, मौखिक परम्परा कुनै लिखित रुपमा आएका छैनन्। तर, पनि यसलाई गाउँमा तम्बा गन्बा वा डम्फूरेहरुले अडाइरहेका छन्, बचाइरहेका छन्। त्योसंगै डम्फू प्रतीकको रुपमा आइरहेको छ भने यदि डम्फू हरायो भने बिस्तारै तामाङ समुदायको संस्कृति पनि बिस्तारै हराउँदै जान्छ। तामाङ संस्कृति हराउनु देशको एक मौलिक संस्कृतिमा चुनौति निम्तनु हो, देशको संस्कृति लोप हुँदा त्यसको अप्रत्यक्ष प्रभाव खस–आर्य लगायतका सबै समुदायमा पनि पर्दछ।

तामाङ समुदायको चाडपर्व होस् वा विवाह छेवार होस् त्यसमा ताम्बा गान्बाहरुले डम्फूको माध्यमले सवाल जवाफ गरेको पाउछौं। फापर ह्वाई अर्थात् फापर गीतमार्फत् डम्फू बजाउँदै तामाङ इतिहासदेखि कुल देवतासम्मको सवालजवाफ खोतल्ने गरेका पाउँछौं, त्यहाँ आफ्नो पहिचान खोजिन्छ। डम्फूले दुखसुख साट्नुका साथै आफ्नो संस्कार संस्कृतिको उजागर गर्छ। त्यसैले डम्फू लोप भयो भने तामाङ समुदायको संस्कार संस्कृति पनि लोप हुने खतरा बढ्दछ। त्यसैले डम्फूको व्यापक प्रचार–प्रसार र यसको महत्त्वबारे पछिल्लो युवा पुस्तालाई जानकारी गराउनु हाम्रो कर्तव्य सम्झेर नै युएईमा पहिलो ऐतिहासिक डम्फू साँझ कार्यक्रम गर्ने निधो गरेका हौँ।

कतिपय साथीहरूले डम्फू साँझको सट्टा मादल साँझ गर्न मिल्दैन ? भनेर प्रश्न पनि गर्नुभएको थियो। पक्कै पनि डम्फू साँझको ठाउँमा मादल साँझ गर्न पनि सकिन्छ। तर, हरेक कार्यक्रमको एउटा न एउटा उद्देश्य हुन्छ नै। यो कुरा बैठकमा छलफल हुँदा पनि नउठेको होइन। मादल नेपाली गीत संगीतमा धेरै प्रयोग भइरहेको छ, राज्यले पनि मान्यता दिएकै छ, लोप हुने अवस्था पनि छैन। तर, डम्फू नेपालको पूरानो बाजा भएर पनि न यसको कुनै गीत संगीतमा प्रयोग भएको छ, न राज्यले संरक्षण नै गरेको छ। त्यसैले जुन चीजको अलि धेरै संरक्षणको जरुरत छ, त्यसकै नामबाट कार्यक्रम गर्नु उपयुक्त ठानेर हामी यो निर्णयमा पुगेका हौं। तसर्थ, यसलाई जातिवादी कोणबाट हेर्नु गल्ती हुन जान्छ।

पछिल्लो चरण युवा पुस्ता पश्चिमी गीत संगीतमा बढी रुचि राख्ने तर आफ्नो देशकोमौलिक गीत संगीतलाई भने यो तामाङको कार्यक्रम, यो गुरुङको कार्यक्रम भनेर जातिवादी चिन्तनका साथ हेरेको पाउँछौं। खस–आर्य, जनजाति, मधेशी सबैका संस्कृति नेपालकै संस्कृति हुन्, यी हाम्रै संस्कृति हुन्। सात समुन्द्रपारि गोरेहरुले गाउने अंग्रेजी गीतहरुको बाटो समातेर गरेको कन्सर्टमा उफ्रीउफ्री नाँच्न गर्व गर्ने हामीहरु आफ्नै समुदायले गाउने गीत संगीतलाई जातिवादी भन्छौं। यो हाम्रै नेपालको संस्कृति हो भनेर सोच्दैनौं।

म मादलको घिन्ताङको तालमा कम्मर भाँच्न सक्छु भने मेरो डम्फूको डमडममा कम्मर मर्काउने हिम्मत अरु समुदायका साथीहरूले पनि गर्नुपर्छ। म बाहुनले लगाउने ढाका टोपी र दौरासुरुवाल लगाएर शानले नेपाली भनेर गर्व गर्न सक्छु भने मेरो समुदायको तामाङ टोपी र तामाङ पहिरन लगाएर नेपाली हुँ भनेर अरु समुदायका साथीहरूले पनि गर्व गर्न सक्नुपर्छ। अनि, मात्रै त्यहाँ जातीय सहिष्णुता हुन्छ, साँचो अर्थमा राष्ट्रियता र बन्धुत्वको भावना हुन्छ। यसो गर्दा हामीलाई केही पनि नोक्सान हुँदैन, हाम्रो केही गुम्दैन।

तामाङ, गुरुङ, राई, लिम्बू, मगर होस वा बाहुन क्षेत्री, सबैले एकको अस्तित्व अर्कोले स्वीकार गर्दै जान सकिएन भने नेपाली भनेर गर्व गर्नु पनि बेकार नै हुन्छ। किनभने नेपाल भनेकै विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति मिलेर बनेको मौलिक पहिचान बोकेको देश हो। त्यसैले हामीले युएईमा पहिलोपटक नेपाली पूरानो बाजा डम्फूको नाउँमा बृहत सांस्कृतिक कार्यक्रम गर्दैछौं।

डम्फू तामाङ समुदायभन्दा माथि उठाउन नसक्दा झनझन खुम्चिँदै गएकाले डम्फू सिंगो नेपालीको बाजाका रुपमा स्थापित गर्ने हाम्रो प्रयास हो। तसर्थ, नेपालको मौलिक बाजा सम्फू साँझ–२०१९ मा खुल्ला दिलले सहभागी भइदिनु हुन दुबईबासी नेपाली दाजुभाइ, दिदीबहिनीमा म हृदयदेखि अपील गर्दछु।

(लेखक तामाङ, डम्फू साँझ-२०१९ का आयाेजक एवं नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ युएईका अध्यक्ष हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्