जनताको जलविद्युत : माथिल्लो त्रिशूली थ्री ‘बी’मा ६६ करोडको आवेदन

trishuli-3-B
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा रु ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन गरिएको छ ।

उक्त जलविद्युत कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमूख कार्यकारी अधिकृत पारसमणि ढकालकाअनुसार यो तथ्याङ्क आज साँझ ५ बजेसम्मको मात्र हो । बैंक तथा वित्तीय संस्थाले केही शेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्ने जनाइएको छ । कूल १ लाख ५५ हजार ४७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका हुन् ।

कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको शेयर सङ्ख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको जारी पूँजी रु. २ अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड ५ लाख बराबरको रु १०० अङ्कित दरका ३७ लाख पाँच हजार साधारण शेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याइ बाँकी ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री शुरु भएको हो ।

आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रु १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिम रूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।

कार्यक्रमको पहिलो सहभागीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १ हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । सो कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण रहेको जनाइएको छ ।

मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत शुरु भइसकेको बताइएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमकाअनुसार सो आयोजना वि.सं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्