विराटनगर, चैत ११ । वर्तमान सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे ।
उनले सेना परिचालनको एक महिनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको समेत प्रस्ट पारे ।
उपप्रधानमन्त्री पोखरेलले विप्लव समूह हतियार छाडेर आएमा वार्ता हुने बताए । उनले मुलुकमा बम पड्काउने, हत्या हिंसा गर्ने, जनतामा आतङ्क सिर्जना गर्ने गरेकाले विप्लव समूहलाई प्रतिबन्ध लगाइएको बताए । विप्लव समूहप्रति सरकारको वैरभाव नभएको उनको भनाइ थियो ।